१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको चेतावनी


0
Shares

काठमाडौं । नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले सरकारले हतारमा संसद् अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध जनाएको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

‘एक दर्जन अध्यादेशमा निर्णय गर्नुपर्ने, कयौं विधेयक टुंगो लगाउनुपर्ने र जनसरोकारमा विषयमा बहस गर्नुपर्ने अवस्थामा १ महिनासम्म संसदलाई बिजनेस नदिइ हठात अधिवेशन अन्त्य गरिएको छ,’ एमालेले भनेको छ, ‘यसले विगतमा गठबन्धनमा आवद्ध पार्टीहरुबाट संसदका बारेमा भनिएका विषयहरु ढोंग र अवरण मात्रै थिए भन्ने पुष्टि हुन्छ ।’

ज्ञवालीले संसद् अधिवेशनलाई आकस्मिक रूपमा अन्त्य गरेर पार्टी विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णय खेदजनक रहेको बताउनुभयो । बैठकले एमाले विभाजन गर्ने सबै षडयन्त्रविरुद्ध दृढतापूर्वक उभिन नेता तथा कार्यकर्तालाई आह्वान समेत गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका केही अराजक र पदलोलुप व्यक्तिलाई विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने र लोकतान्त्रिक प्रणालीभित्र चरम विकृति र भ्रष्टता भित्र्याउने सरकारको तयारीको प्रतिवाद गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।