१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अझै पूर्ण रुपमा सञ्चालनमा आएन कोभिड युनिफाइड अस्पताल, जनशक्ति अभाव मुख्य समस्या


0
Shares

प्रज्ञा तिमल्सीना
काठमाडौं । कोभिड–१९ संक्रमितले भरिभराउ भएपछि अस्पतालमा उपचार पाउन कठिन हुन थालेको छ । यो बेला सरकारले कोभिड संक्रमितको मात्र उपचार गर्ने भनेर स्थापना गरेको कोभिड युनिफाइड केन्द्रीय(वीर) अस्पताल अझै पूर्ण क्षमतामा सञ्चालन ल्याइएको छैन ।

वीरको निर्माणाधिन सर्जिकल भवनलाई उपचारमा प्रयोग गर्ने ३ महिना पुरानो सरकारी निर्णय आवश्यक जनशक्ति अभावमा पूरा हुन सकेको छैन । अस्पताल पूर्ण क्षमतामा चलाउने हो भने ३ सय नर्स, ५० मेडिकल अफिसर र ५ जना क्रिटिकल केयरका चिकित्सक आवश्यक पर्छ । तर, अहिलेसम्म आवश्यकताको आधा जनशक्ति पनि पदपूर्ति गरिएको छैन ।

कोभिड संक्रमणको दोस्रो लहर नियन्त्रण बाहिर पुग्न लागेको कहालीलाग्दो अवस्थामा तत्कालिन सरकारले गत जेठमा अस्पताल सञ्चालनका लागि अध्यादेशमार्फत डा. जागेश्वर गौतमलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको थियो । सरकार बदलिएसँगै गौतमलाई हटाएर डा. भुपेन्द्र बस्नेतलाई नियुक्त गरिएको छ ।

नेतृत्व फेरिए पनि जनशक्ति अभावकै कारण ५ सय क्षमताको अस्पतालमा जम्माजम्मी १८ वटा आईसीयू र केही जनरल वार्ड मात्र सञ्चालनमा ल्याइएको छ । अस्पतालको पूर्ण क्षमता भनेको १/१ सय शय्याको आईसीयू र एचडीयू, ३ सय शय्याको जनरल वार्ड सञ्चालन गर्ने हो । हाल जम्मा ३१ वटा आईसीयू शय्या तयार छन् ।

जनशक्ति, भौतिक संरचना र स्वास्थ्य उपकरणका कारण अस्पताल सञ्चालनमा आउन अझ एक महिना लाग्ने अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेत बताउनुहुन्छ । अस्पतालमा हाल ३० मेडिकल अफिसर, १ सय नर्स र २ जना क्रिटिकल केयरमा चिकित्सक राखिएको छ । तर, क्रिटिकल केयर सञ्चालन गर्ने चिकित्सक पाउनै नसकिएको उहाँको भनाइ छ ।

वीरमा हाल कोभिडको ३६ वटा आईसियू शय्या सञ्चालनमा छन् । कोभिड युनिट प्रमुख डा. अच्युत कार्की जनशक्ति अभावमा केन्द्रीय अस्पताल पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको स्वीकार गर्दै जनशक्ति थप्ने र बिरामीको चाप घट्ने अवस्थाको उत्पन्न भएमा के गर्ने भन्नेबारे आफैँ अलमाल हुनुहुन्छ ।

संक्रमितको संख्या उकालो लागेसँगै उपत्यकाका अस्पतालमा बिरामीको चाप बढ्दो छ । टेकु अस्पतालमा शय्या अभावमा संक्रमितलाई बाहिरैै राखेर उपचार गर्न थालिएको छ । यस्तो अवस्थामा यो वा त्यो बहाना देखाएर कोभिड युनिफाइड केन्द्रीय (वीर) अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा नल्याउनु मानवीय क्षतिलाई निमन्त्रणा दिनु हो । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ ।