१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


तालिबान नियन्त्रित काबुलबाट काठमाडाैं फर्कनेहरूकाे कथा… (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी
काठमाडौं । अफगानिस्तानबाट नेपाली नागरिकको उद्धार सुरु भएको छ । पहिलो खेपमा १ सय २७ नेपालीको सकुशल उद्धार गर्दै स्वदेश ल्याइएको छ । तालिबानी विद्रोहीले अफगानिस्तान कब्जामा लिएसँगै रोजगारीका लागि त्यहाँ रहेका नेपालीको सुरक्षा चिन्ता बढेको बेला अमेरिकीको सहयोगमा मंगलबार उनीहरूलाई नेपाल ल्याइएको हो ।

स्वदेश फर्काइएका नागरिकहरूको भनाइबाट अफगानिस्तानमा रहेका नेपाली कुन उकुस–मुकुसमा छन् भनेर सहजै अनुमान लगाउन सकिन्छ । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत १ सय २७ जनालाई त अमेरिकी दूतावासले नै नेपाल ल्याइदियो । तर, अरुको हालत कहालीलाग्दो रहेको स्पष्टै बुझ्न सकिन्छ ।

त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याइएका अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत उनीहरूलाई जजिरा एयरको चार्टर विमानबाट नेपाल उतारिएको छ । यो पहिलो प्रयास हो । द्वन्द्वग्रस्त अफगानिस्तानमा रहेका बाँकी नेपालीलाई पनि छिट्टै स्वदेश ल्याउन सरकार लागेको सीसीएमसीका अध्यक्ष बालानन्द शर्मा पौडेल बताउनुहुन्छ ।

अफगानिस्तानको पछिल्लो राजनीतिको असहजताको भुङ्ग्रोबाट उम्केर स्वदेश फर्केकाहरूले अब देशमै श्रम र सीप खर्चिने योजना सुनाएका छन् । अमेरिकी सेनाको फौजले हामीलाई सकुशल उद्धार गरेर ल्याएकाले खासै डरलाग्दो नभएको त्यहाँ कार्यरत एक नेपाली युवा बताउँछन् ।

अमेरिकी दूतावासमा काम गर्नेहरू छिट्टै फर्किए पनि अन्य दूतावास र परियोजनामा कार्यरत नेपालीहरू फर्कन केही समय लाग्नसक्ने नेपाल फर्किएकाहरू बताउँछन् । उनीहरू अफगानिस्तानमा रहेका सबै नेपालीको छिटो भन्दा छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

द्वन्द्वको भूमरीमा फसेको अफगानिस्तानबाट झिटीझाम्टासहित स्वदेश उत्रेकाहरूमध्ये एक जनामा कोभिड संक्रमण देखिएको छ । संक्रमण देखिएका एक जनालार्ई नेपाली सेनाको रोहबरमा एकान्तवास राखिएको छ भने बाँकीलाई घर पठाइएको छ ।

विदेशी भूमिमा बाँचिने हो कि मरिने हो भन्ने पिरलोबाट उम्केर स्वदेश आएकाहरू जन्मघर पुगेर परिवार मिलनमा सहभागी हुँदा कति खुसी होलान्, त्यो शब्दमा वर्णन गर्न सकिने विषय नै होइन । भलै नेपालमा अब झेल्नु पर्ने बेरोजगारीलगायतका समस्याले भविष्यमा पिरोल्ने कुरा त छँदैछ ।