संजिव कार्की
कृषि सेना गठन किन ?
सरकार कृषि सेना गठन गर ।
अबको कार्यभार दीगो कृषि क्रान्ति । राजनीतिक पार्टीहरु अहिले विभिन्न किसिमका सेना बनाउन तल्लीन छन् । साइबर सेना , आइ टि सेना , यूथ फोर्स, अखिल फोर्स, वाइसियल यी सबै दस्ता सेना पुलिस जस्ता पार्टीका फोर्स हुन । यस्ता अनेकन नामका संगठनको काम भनेको गुन्डागर्दी गर्नु, हप्ता असल्नु , जोर जबर्जस्ती चन्दा उठाउनु , मान्छेहरुलाई धम्काउनु भएको छ । आवरणमा सिद्धान्त र पार्टी राजनीतिको झिल्के जामा बोकेर भित्र भित्र र कतिपय अवस्थामा खुलेआम कानुन हातमा लिनु र गैर कानुनी धन्दा गर्नु यिनीहरूको राजनीति भएको छ । रचनात्मक, सिर्जनात्मक क्षमता उमेर र ऊर्जा नकारात्मक खेती गर्न अभ्यस्त बन्दै छ । डर, त्रास, धाक धम्की र सत्ताको दुरुपयोग गरेर अर्थोपार्जन गर्नु र संगठनको नाम भजाउनु यी संगठन हरुको नित्य कर्म बनेको देखिन्छ । मनि, मसल्स र मोटर साइकलको माध्यमबाट समाजमा पहुँच स्थापना गरि श्वेत आतंक फैलाउनु आजका राजनीति सम्बद्द युवाहरुको पौरख बनेको छ । सबै दल पार्टी र तिनका युवा विद्यार्थीमा यो प्रवृति महारोगको रूपमा सल्केको र फैलेको पाइन्छ ।
पैसा कमाउने सजिलो तरिकाको रूपमा राजनीति मौलाएको छ । कतै कुनै आय आर्जन र व्यवसाय बिना राजनीतिमा लागेकै आधारमा कसरी खर्चिलो जिन्दगी जिउँछ्न नेताकार्यकर्ता ? यो केन्द्र देखि तल वडाकाे राजनीति गर्ने नेताहरु सम्म पुग्ने प्रश्न हो । अर्थोपार्जनको भरपर्दो आधार र पारदर्शिता बिना कसरी चल्छ नेताकार्यकर्ताको खर्च ? उधोग धन्दा कल कारखाना सीप र प्रबिधियुक्त कम्पनी खोल्नु पर्ने र ब्यवसायिक बन्नुपर्नेहरु किन विभिन्न नामका सैनिक र अर्ध शैनिक नामक दस्ता खोल्न र चलाउन चाहन्छन ? प्रतिस्पर्धा गर्छन् ? किन राजनीतिक पार्टीहरु यस्ता कुरालाई प्रोत्साहन गर्न फोर्स र सैनिक नामक संस्था खोलीदिन मरीहत्ते गर्छन् ? के आजको अवस्था युवा र विद्यार्थीहरुलाई अपराधीकरणलाई राजनीतिकरण गर्न उक्साउनु हो ? आज देशले चाहेको जनशक्ति भनेको पार्टीहरुको अनावश्यक सैनिककीकरण हो ? काम नगर्ने दस्ता केवल आन्दोलन मारपिट, ठगठागमा रमाउने पुस्ता निर्माण गर्नु हो ? कि श्रमजीवी पौरखी र पसिनाको कमाईमा विश्वास गर्ने मेहनत र बुद्धिले बाँच्ने जनशक्ति पैदा गर्नु हो ? किन काम सेवा र विशेष महत्त्वको क्षेत्र पहिचान गरि तदनुकुल जनशक्ति निर्माण गर्न राज्य चुक्यो ?
राज्यले आत्मनिर्भर, स्वाभिमानी र कर्मशिल पुस्ता जन्माउन किन विशेष क्षेत्रको प्राथमिकिकरण गर्न जानेन ? हाम्रो आवश्यकता र सम्भावना के हो किन त्यतातिर नीतिनिर्माताको ध्यान जाँदैन ? हामीसँग के छ ? के छैन त्यसको आधारमा हामी अघि बढन किन सकेनौ ? कुनै संभावना श्रोत र समयमा नभएर हामी पछाडि परेका हौ र ? पक्कै होइन हामीसँग यथेष्ट सम्भावनाहरु छ्न तर हामी हाम्रा सम्भावना र अवसरमा निशाना लाउन पटक-पटक चुकेका छौँ । अझै पनि हाम्रो चेत खुलेको छैन । असीमित संभावना र अथाह प्राकृतिक श्रोत र साधन भएर पनि हामी मगन्ते छौं । ठग भएका छौँ । हामीले हामीलाई हाम्रो सम्भावना र शक्ति अनि भविस्यलाई ठगेका छौं । आफ्नो सुगन्ध भुलेर अर्काको दुर्गन्धमा मुग्ध छौं । संसारको भोक र शरीर जीवन र जगत पृथ्वी र प्राणीसँग सारभूत रूपमा जोडिएको पेशा कृषिलाई हेय बनाएर हामीले केही दशक देखि आफ्नो खुट्टामा बन्चरो हान्दै छौ ।
हामीसँग प्रसस्त कृषि योग्य जमिन छ पानी माटाे छ तर इच्छाशक्ति र फ्यासिलेटेड गर्ने राज्यको भिजनमा धमिरा लागेको छ । कृषि प्रबिधि,मल बीउ बिजन, कृषि यन्त्र र कृषि औजार कृषकको सुबिधा अनुसार छैन । सिंचाइको आधुनिक स्वरुप छैन । कृषिलाई उद्ममको रूपमा विकास गर्न ‘कृषि लोन’ सहज छैन फलस्वरूप यहीँ आफ्नै भूमिमा केही गरौं , श्रम र पसिनाले आफ्नै मातृभुमि भिजाऔं भन्ने चाह राख्ने युवा पलायन छ , स्वदेशमै रहे बसेको युवा पनि कृषि गर्न नाक खुम्च्याउँछ र धकाउँछ । युवा शक्ति, सामर्थ्य र समयको बर्बादी भै रहेको छ । कृषिलाई सम्मानित पेशा मान्दैन र कृषकलाई हेला होचोको दृष्टिगोचर गर्छ । राज्यको नीति पनि किसान मैत्री छैन र कृषिलाई राज्यले आफ्नो अर्थतन्त्रको मेरुदण्ड किताबमा मात्रा स्वीकार गर्छ । वास्तविक धरातलमा गर्न सकेको छैन । जसको कारण रेमिटेन्सको भरमा देश चलेको छ । आत्मनिर्भरता पराय बनेर परनिर्भरता परिचय बनेको छ ।
कुनै बेला खाधयन्न निर्यात गर्ने देश अहिले सबैकुरामा पर निर्भर छ । आयातित कुरामा बाँचेको छ । उत्पादन छोडेर बिदेशी समानको दलाली र बिचौलिया बन्नु परेको छ । आफ्नो उत्पादन भयो भने बेच्ने बजार छैन । बिदेशी उत्पादनसँग कृषकले दुखले उत्पादन गरेको वस्तुले प्रतिस्पर्धा गर्न सक्दैन । कृषिमा प्रतिकुलता नै प्रतिकुलता भएको कारण कृषि श्रम बजारमा काम गर्ने श्रमिकको अभाव छ । श्रमको मुल्य पनि कम छ तसर्थ नेपाली युवा खाडीकाे श्रम बजारमा पसिना र श्रम अनेकन खतरा मोलेर बेच्न बाध्य छन् । अत राज्यले कृषि सेना निर्माण गर्ने जरुरत देखेको छु ।बाँझो खेतबारी हरभरा बनाउन,पशु-पंक्षी पालन गर्न, कृषि जन्य उत्पादनमा आत्म निर्भर बन्न,अन्न,तरकारी,फलफूल र माछा मासु यथेष्ट उत्पादन गरेर विदेश निर्यात गर्न,अनि जडिबुटी खेती, संधोधन प्रवर्द्धन र निकासी गर्न , बेरोजगार घटाउन, वैदेशिक रोजगारी कम गरि स्वदेशमै रम्ने रमाउने वातावरण बनाउन, पर्यावरणीय असन्तुलन कम गर्न खेती अनिवार्य शर्त हो ।
कृषिको वैज्ञानिकीकरण बजारीकरण, यान्त्रीकरण र औधोगिकीकरण र कृषिलाई उद्योग र कृषकलाई उध्द्मी बनाउन सरकारले कृषि सम्बन्धि अत्याधुनिक,अनेकौं सीप, ज्ञान र प्रविधिले दक्ष कृषि सेना गठन गर्न पहल थालोस् । कृषिको व्यवस्थापकीय पक्षमा जति छिटो ध्यान दिन सकिन्छ त्यति छिटो नेपाली आत्मसम्मान र स्वाभिमान उँचो रहन्छ । खाद्यान्नमा आत्म निर्भर रहने र विश्व बजारमा श्रम गर्न जाने युवालाई रोक्ने निति बनाएर कृषि सेनामा युवाको आकर्षण बढाउने कार्यक्रम राज्यले बनायो भने देसको मुहार फेरिने छ । बाँझा भुमि हराभरा हुनेछन् । वन जंगल हरियाली बन्नेछन् । कृषिलाई पर्यटनसँग जोडेर स्वदेशी उत्पादनको प्रयोग गर्दै स्वदेशी उत्पादनलाई प्रचारप्रसार गरि विश्व बजारमा पठाउने वातावरण बनाउन राज्यले लागि पर्यो भने असम्भव केही छैन । आत्म गौरव बढछ । स्वाधीनताले पाउँला हाल्छ, अन्यथा मोदीलाई(ईन्डियालाई गाली गरेर ) सराप्दै उसले नै पठाउने कुहिएको दाल चामल तराकारी र फलफूल खाएर पुँजीको दलाली गरेर,विचौलियालाई कुस्त कमाउन दिएर आत्मनिर्भरता, स्वाभिमान र रास्ट्रभक्तिका गफ,फगत गफ मात्रै हुन् । कृषि सेनाको संभावना बारे बिस्तृत अध्ययन गरेर यसको कार्यन्वयन गर्न राज्यले सोच्ने हो भने स्वरोजगारी बढने, उत्पादन बढने र वैदेशिक रोजगारमा जाने युवा कम हुन्छन् । गाडी युवा विहीन र जनशक्ति विहीन हुनुको आजको दुरावस्था रहँदैन । यो विषयमा बौद्धिक बहस चलोस कृषि सेनाको सम्भाव्यता र जटिकता बारे अध्ययन होस् भन्ने हेतुले यति लेखे । कति व्यवहारिक कति उपयुक्त कति उपयुक्त विवेचना हुनेछ ।
प्रतिक्रिया दिनुहोस्