काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको विषयामा जनमत संग्रह हुनुपर्ने बताउनुभएको छ ।
जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको बताउँदै उहाँले राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने बताउनुभयो । उहाँले हिन्दूराष्ट्र र राजसंस्था राजनीतिक विषयभन्दा अलग भएको बताउनुभयो ।
‘हिन्दूराष्ट्र र राजसंस्था, यो राजनीतिभन्दा अलग विषय हो,’ बुधबार काठमाडौंमा भएको एक साक्षात्कारमा बोल्दै नेता उपाध्यायले भन्नुभयो, ‘मलाई लाग्छ, हिन्दूराष्ट्रको विषयमा नेपालमा जनतमतसंग्रह हुनुपर्छ ।’
उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने पनि जानकारी दिँदै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारत छिट्टै भारत भ्रमण गर्ने विश्वास व्यक्त गर्नुभयो । आफू पशुपतिनाथको दर्शन गर्न आएको स्पष्ट पार्दै नेता उपाध्यायले नेपाल र भारतबीच ऐतिहासिक र बहुआयामिक सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीच सुमधुर सम्बन्ध हुने बताउनुभयो ।
डा. उपाध्यायले नेपालको राजनीतिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको र नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल हाम्रो सहोदर भाइ हो । नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध छ । मित्रताको सम्बन्ध छ । एक अर्का देशले सल्लाह मागे दिनुपर्छ । तर, नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा कुनै असमझदारी छैन । हस्तक्षेप गर्नुहुँदैन ।’
दार्चुलाका जयसिंह धामी भारतीय एसएसबीले तुइन काटेका कारण कारण बेपत्ता भएको विषयमा पत्रकारको प्रश्नमा डा. उपाध्यायले छानविन हुनुपर्ने बताउनुभयो । उहाँले २०७२ मा भारतले नेपालमा नाकाबन्दी नगरेको दावी गर्नुभयो । आफू सीमामा आउँदा आन्दोलन भएको देखेको स्मरण गर्दै उहाँले भारतले नाकाबन्दी नगरेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्