
गृष्मा राजभण्डारी
काठमाडौं । ‘२४ घण्टा अघिको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट हामसँग छ, खोप लगाएको प्रमाण पनि छ । सबै प्रमाण देखाउँदा पनि नेपाली सेनाले सुन्नै चाहँदैन ।’ अफगानिस्तानबाट ज्यान बचाएर घर फर्किएका हकबहादुर राईको आक्रोश हो यो ।
उनी अझै थप्छन्, ‘एउटै जहाजमा आएका मानिसहरू घर पुगिसके हामीलाई मात्र यहाँ राखिएको छ । यसमा पनि स्वार्थ होला नि उनीहरूको । कोरोना त अहिले व्यापार भइसकेको छ । फाइदा नभए राख्नै नपर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर किन राख्थे र !’
अफगानिस्तानको असुरक्षित तावाबाट छलिएर आफ्नो मातृभूमिमा टेकेपछि भुंग्रोमा परेको राईको गुनासो छ । अफगानिस्तानको बेलायती दूतावासमा सुरक्षा जिम्मेवारी लिएर बसेका उनीहरूलाई बेलायती दूतावासले नै उद्दार गरी स्वदेश ल्याइदिएको हो ।
हकबहादुर मात्र हैन, उनीसँगै आएका अरुलाई पनि सरकारको शैली चित्त बुझेको छैन । सरकारले एयरपोर्टमै पीसीआरको व्यवस्था गर्नुपर्नेमा उनीहरुको जोड छ । परिवारका सदस्यलाई कतिबेला भेटौं भएका उनीहरू सेनाको जिम्मा लगाएर आइसोलेसनमा राखेपछि थप आक्रोशित भएका हुन् ।
नेपाल उड्नु २४ घण्टा अघि पीसीआर टेष्ट भइसकेको अवस्थामा आइसोलेसनमा राख्नु गलत भएको उनीहरूको भनाइ छ । नाफाको जीवन बाँचेर आएका स्वजनलाई लिन आएका आफन्त समेत विचलित छन् । नेपाल नआउन्जेल अफगानिस्तानमा रहेको परिवार सबैलाई चिन्ता पर्नु स्वभाविक हो । तर देश झरिसकेकपछि पनि अनेक बहानामा रोकेर राख्नु गलत भएको उनीहरु बताउँछन् ।
अफगानिस्तानबाट आएकाहरूलाई सेनाको संरक्षणमा राखिएको छ । तर, राख्नुपर्नाको उचित जवाफ कसैसँग छैन । आफन्तले विभिन्न ठाउँका लागि बुक गरिदिएको जहाजको टिकट त्यतिक्कै खेर गएको छ । बेलायती सरकारले उद्धार गरी सकुशल घर फर्काएपछि नेपाल सरकारले गोजीबाट नियम निकालेर आफूहरूलाई मानसिक पीडा दिएको उनीहरूको दुःखेसो छ ।
विभिन्न देशका दूतावासमा कार्यरत नेपालीलाई घर फर्काउने क्रममा अफगानिस्तानको बेलायती दूतावासमा कार्यरत ६१ जना स्वदेश फर्किएका हुन् । यसअघि अमेरिकाले पनि ठूलो टोली ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्