३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


नेपालमै खोप उत्पादन कति सम्भव ? (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सीना
काठमाडौं । शेरबहादुर देउवा नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले खोप उत्पादन गर्ने प्रयोजनका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।

सरकारको यही अवधारणाअनुसार मौद्रिक नीतिले निजी क्षेत्रलाई सम्बोधन गर्‍यो । मौद्रिक नीतिमा महामारीजन्य उपचारका लागि भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगलाई सरल कर्जा उपलब्ध गराउने उल्लेख छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको १ बर्षभित्र वेलायत , अमेरिका ,चीन लगायतका समृद्ध देश खोप बनाउन सफल भएका थिए । यही खोप भारत , पाकिस्तान र बंगलादेशले बनाउन सुरु गरिसकेका छन् ।

खोप बनाउन नेपालका निजी कम्पनीहरु अग्रसर भएका छन् । खोप बनाउन देउराली जनता फर्मास्यूटिकलले अनुमति मागेको छ । पशुपन्छी, जनावरमा लगाउने खोप बनाएको अनुभवमा सफलता सम्भव रहेको नेपाल औषधी उत्पादन संघका पूर्वअध्यक्ष दीपक दाहाल बताउनुहुन्छ ।

नेपालसँग ६ दशकअघि नै गाईवस्तुमा लगाउने खोप बनाइसकेको गौरवपूर्ण विगत छ । यसैगरी २०२७ सालमा मानिसमा लगाउने रेविज खोप यहीँ आविष्कार भएको थियो । नेपालभित्र खोप उत्पादनको सम्पूर्ण प्रक्रिया पुर्‍याउन सकिएको खण्डमा लागत कम लाग्ने पूर्वअध्यक्ष दाहालको भनाइ छ ।

पशुपन्छी खोप विज्ञ डा. बोधराज आचार्य प्रविधि र प्रक्रिया बाहिरबाट ल्याएपछि मात्र नेपालमा तत्काल खोप उत्पादन सम्भव रहेको बताउनुहुन्छ । जनशक्ति र ल्याबको उच्च सतर्कता आवश्यक भएकाले नेपालमा सम्पूर्ण प्रक्रिया पूरा गर्न हाल सम्भव नरहेको उहाँको भनाइ छ ।

कोभिड प्रभाव दशकौंसम्म रहने प्रक्षेपण विज्ञहरूले गरिरहेको सन्दर्भमा स्वदेशमा खोप उत्पादन बाञ्छनीय देखिएको छ ।