
नरेन्द्र मानन्धर
काठमाडौं । खोकना जहाँ सुगन्धित शुद्ध तोरीको तेल प्राचिनकालदेखि परम्परागत रुपमा उत्पादन हुँदै आएको छ । कोलमा पेलेर बनाइने यहाँको तेल शुद्धता र स्वास्थ्यको दृष्टिले निकै लोकप्रिय छ ।
वर्षौं अघिदेखि यहाँ चारवटा साः अर्थात तेल बनाउने कोल रहेको छन् । जुन न्हबु, ध्वकासी, न्हुसाः र गाबु टोलमा रहेको छ । उपत्यकाको अन्य ठाउँमा साय्मी समुदाय यो पेशामा आबद्ध छन् । तर, खोकनामा भने महर्जन र डंगोलहरूले धान्दै आएका छन् ।
बजार व्यवस्थापनको अभाव, स्थानीय क्षेत्रमा नै तोरी उत्पादन कम हुनु र युवा शक्ति यो पेशाप्रति अनिच्छुक हुँदा व्यवसाय संकटमा परेको छ । फेरि पनि खोकनाको पहिचान जोगाउनु पर्छ भन्नेहरू अहिले तोरी भुटेर परम्परागत प्रविधिबाटै तेल निकालिरहेका छन् ।
तिनैमध्येका एक हुन् कान्छा महर्जन । उनले गाबु ज्यासाः तेल मिल सञ्चालन गरेर भुटेकै तोरीबाट परम्परागत तरिकाले सयौं वर्ष पुराना साःबाट तेल उत्पादन गरिरहनुभएको छ । परम्परागत तरिकाले तेल उत्पादन गर्दा फाइदा नभए पनि पुर्खाको नासो बचाउन मात्र यसलाई निरन्तरता दिएको बताउनुहुन्छ ।
अहिले पनि परम्परागत तरिकाले बनाएको तेलको माग उच्च छ । तर, मागअनुसार आपुर्ति गर्न नसकिएको महर्जनको भनाइ छ । गुथीअन्तर्गत समुदाय स्तरमा रहेको यो व्यवसायलाई बचाउन स्थानीयहरू मिलेर सहकारीको ढाँचामा पनि व्यवसाय गरिरहेका छन् ।
१ सय ५२ साःमो मिलेर सिकाली बहुउदेश्यीय सहकारी तेल मिल सञ्चालन गरिएको छ । पुरानै प्रविधिले काम गर्दा माग धान्न नसकेपछि आधुनिक मेसिन राखेर तेल उत्पादन थालिएको छ । सयौं वर्ष पुराना काठको कोल अनुसन्धान र विदेशी पर्यटकको आर्कषणमा मात्र सीमित भएको छ ।
खोकोनाको तेलको छुटै पहिचान भएकोले माग अहिले धेरै छ । फाइदा धेरै नभए पनि पहिचान जोगाउन सबै मिलेर व्यवसायलाई निरन्तरता दिइएको स्थानीय विपेन्द्र डंगोल बताउनुहुन्छ ।
यहाँको पहिचान जोगाउन स्थानीय तहले परम्परागत साःकोलको पुनर्निर्माण समेत गरेका छन् । यो परम्परा र संस्कृतिलाई जोगाउने हो भने एकीकृत रुपमा समुदाय र स्थानीय तह मिलेर जानु उत्तम देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्