
काठमाडौं । प्रस्तावित एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको दायित्वबाट नपन्छिने वाचा गर्नुभएको छ । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एक अपील जारी गर्दै उहाँले आफूहरू राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख नहुने बताउनुभएको हो ।
नेपाली कम्युनिष्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिरहन नेकपा (एमाले) लाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक भएको अपिलमा उल्लेख छ ।
नेता नेपालले नयाँ पार्टी गठनलाई नेकपा एमाले पुनर्गठन र रुपान्तरणको महाअभियान भन्नुभएको छ । ‘नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले) बाट वैधानिक रुपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छौं’ अपिलमा भनिएको छ ।
अध्यक्ष नेपालले राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आआफ्नो ठाउँमा खट्न र सहयोग पु¥याउन पनि आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्