सर्लाही । सर्लाहीको रानिगन्जमा शंकास्पद् मृत्यु भएकी युवतीको शव बुझ्न परिवारले अस्वीकार गरेका छन् ।
गएराती जिल्ला अस्पताल मलंगवामा मृतक युवतीको शव पोष्टमार्टम भएपनि परिवारले बुझेका छैनन् ।
पोष्टमार्टम भइसकेको शव जिल्ला अस्पतालमै छ । घटनाको निष्पक्ष छानबिन हुने र दोषीमाथि कानुन बमोजिमको कारवाही गर्ने भनी आश्वस्त पार्दा समेत परिवारले शव नबुझेका प्रहरी स्रोतले जनाएको छ ।
गत साउन ३१ गते राती ११ बजेतिर घरबाटै बेपत्ता भएकी लालबन्दी नगरपालिका–१७, रानिगन्ज डाँडाटोल बस्ने राजेश भुजलेकी १६ वर्षीया छोरी प्रियंका भुजेल मंगलवार राती कालिन्जोर खोलामा मृत फेला परेकी थिइन् ।
पूर्व–पश्चिम राजमार्गस्थित कालिन्जोर पुलबाट करिव २ सय मिटर दक्षिणतर्फ गाडेको अवस्थामा युवतीको शव फेला परेको हो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाउँकै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरेको छ ।
उनीहरुविरुद्ध हिजो सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
मंगलवार दिउँसो महोत्तरीबाट पक्राउ परेका युवकहरुले नै त्यही दिन मध्यराती खोलामा गाडिएको युवतीको शव रहेको स्थान देखाएका हुन् ।
युवतीको मृत्यु नभई हत्या भएको भन्दै घटनाको छानबिन र दोषीलाई कारवाहीको माग राख्दै स्थानीयवासीले हिजो दिउँसो लालबन्दीमा २ घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।
प्रहरीले भने थप अनुसन्धान र पोष्टमार्टमपछि युवतीको मृत्युको कारण खुल्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्