
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना अफगानिस्तानमा फिर्ता हुने समयसीमा भन्दा बढी रहनसक्ने बताउनुभएको छ ।
यही अगस्ट महिनाको अन्तसम्ममा अफगानिस्तानबाट संपूर्ण सेना फिर्ता गर्ने पक्षमा राष्ट्रपति बाइडेन रहेको भएपछि अफगानिस्तानमा रहेका करीब १५ हजार अमेरिकी नागरिकहरु अलपत्र पर्ने अवस्था आएपछि सेनाको बसाई लम्बिनसक्ने देखिएको हो ।
एबीसी न्युजसंगको कुराकानीमा राष्ट्रपति बाइडेनले काबुल विमानस्थलमा ४५ सय अमेरिकी सैनिक तैनाथ रहे पनि तालिवान लडाकुहरुले विमानस्थल प्रवेशका मूख्य विन्दुहरु घेरा हालेकाले नागरिकहरुलाई उद्धार गर्न अप्ठेरो भईरहेको बताउनुभयो ।
पश्चिमा देशहरुले अफगानिस्तानमा रहेका आफ्ना नागरिक र उनीहरुका लागि कार्यरत विदेशीहरुलाई त्यहाँबाट बाहिर निकाल्ने प्रया गर्दै आईरहेका छन् ।
अहिले अमेरिकी सैनिकहरु विमानस्थलबाट बाहिर गएर अलपत्र परेका आफ्ना नागरिकहरु खोज्ने अवस्था नरहेको कुरा अमेरिकी रक्षामन्त्री लिलोइड अस्टिनले स्वीकार्नु भएको छ ।
राष्ट्रपति बाइडेनले अगष्ट ३१ सम्म पनि सवै अमेरिकी नागरिकलाई उद्धार गर्न नसकिएको अवस्थामा सेनाको बसाई लम्बिने बताउनुभयो ।
१० देखि १५ हजार अमेरिकी र उनीहरुका लागि विभिन्न सहयोग पुर्याएका ५० देखि ६५ हजार अफगान नागरिकलाई बाहिर निकाल्नु पर्ने कर्तब्य रहेको पनि बाइडेनको भनाइ छ ।
काबुलबाट करीब ५ हजार जनालाई बाहिर निकालिसकेको र दैनिक ९ हजारलाई उद्धार गर्नुपर्ने अवस्था रहेको पेन्टागनले बताएको छ ।
केही दिन अघि उड्दै गरेको अमेरिकी सैनिक विमानबाट अफगानीहरु खसेको विषयमा स्पष्ट जवाफ दिन नसकेका राष्ट्रपति बाइडेनले उद्धारका क्रममा अराजकता भएको भन्ने आरोप पनि अस्वीकार गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्