
काठमाडौं। लुम्बिनी प्रदेश सभाको बैठक आगामी सोमबारसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि प्रमुख विपक्षी दल एमालेले लगातार दुई दिनसम्म प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो । प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रदेश सभा सञ्चालन गर्ने विषयमा मुख्यमन्त्री कुलप्रसाद केसीले हिजो प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुसँग छलफल गरेपनि सहमति जुट्न सकेको थिएन ।
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सांसदद्वय शाही र वली आफ्नो दलका भएकाले पार्टीले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाले सभामुखले पनि पदमुक्त नगरेसम्म प्रदेशसभा बैठक चल्न नदिइने बताउनुभयो सभामुख पूर्णबहादुर घर्तीले एमालेको पत्रअनुसार सत्य तथ्य बुझेर प्रशासनिक प्रकृया सुरु भइसकेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्