
श्रीराम अर्जुन
हेटौंडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले आफु मुख्यमन्त्री भए पछि विभिन्न प्रतिकुल अवस्थामा रहि सरकार चलाएको बताउनुभएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्रीबाट बहिर्गमनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो नेतृत्वको सरकार अन्तर विरोध र असहमतिका बीच सञ्चालन गरिएको बताउनुभयो ।
४२ महिना बागमती सरकारको नेतृत्व गरिरहदाँ राष्ट्रिय राजनीति अर्कै ट्रयाकमा पुगेको बताउदैं उहाँले परमादेशबाट जननिर्वाचित प्रधानमन्त्री परिवर्तन गरिनु, नेकपा एमाले ठुलो पार्टी रहदाँ रहदैं पनि केहि व्यक्तिले विस्थापित गर्न खेल खेल्नुले पार्टीलाई एकताबद्ध र गुट विनाको पार्टी बनाउनको लागि आफुले पद छाडेको दावी गर्नुभयाे ।
केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सँगको सम्वाद पश्चात पद छाडेको बताउँदै, उहाँले भन्नुभयो, ‘गुटको नाम निशाना नहुने नेकपा एमालेमै हामी सबै छौं ।’
सरकारमा व्यक्ति परिवर्तन भएको तर सिद्धान्त, नीति, विचार र प्रणाली एउटै भएकोले अबको सरकार एमालेकै रहने उहाँले ठाेकुवा गर्नुभयो ।
उहाँले नेतृ शाक्यसँग बीचमा अन्तर विरोध भएता पनि अहिले नेपाल समूह छाडेकाले मुख्यमन्त्री दिएको बताउनुभयो ।
कम्युनिष्ट आन्दोलन विखण्डनमा लैजाने काम गरिएकोले फुटबाट पार्टी जोगाउन आवश्यक तयारी गरिएकोले एकै दिन सबै काम गरिएको उहाँको भनाइ छ ।
हेटौंडामा विकासको काम
आफु मुख्यमन्त्री भएपछि हेटौंडामा आमुल परिवर्तन भएको पौडेलले बताउनुयो । उहाँले हेटौंडालाई प्रदेशको स्थायी राजधानी राखिनुका साथै स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन, मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम लागू, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, सिटिइभिटी भवन निर्माण, गौरीटार रंगशाला निर्माण, प्रदेश भित्रका अस्पतालमा उपचार पद्धतिमा परिवर्तन लगाएतको काम गरेको पौडेलले दावी गर्नुभयो ।
उहाँले प्रदेशमा दुग्ध पाउडर प्लान्ट स्थापना र कृषि थोक बजार स्थापना गरिन लागेको बताउनुभयो । निवर्तमान मुख्यमन्त्री पौडेलले प्रतिकुलताबीच पनि साढे ३ वर्ष काम गर्दा असन्तुष्ट हुनुपर्ने कुनैपनि कारण नरहेको भन्दै अरु प्रदेशको भन्दा बागमती प्रदेशमा बढी काम भएको दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्