काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले आफ्ना सांसदको कारबाही प्रक्रिया चाँडो अघि बढाउन सभामुख अग्नि सापकाटालाई दवाव दिएका छन् ।
एमालेका प्रमुख सचेतकसहित १४ नेताले सभामुख सापकोटासँग बिहीबार भेट गरी माधवकुमार नेपालसहितका १४ सांसदमाथिको कारबाही तत्काल अघि बढाउन आग्रह गरेका हुन् । उनीहरूले नेपाललाई नेकपा एमालेको केन्द्रीय कमिटीले कारबाही गरिसकेको भन्दै त्यसको तत्काल कार्यान्वयन गर्न दवाव दिएका हुन् ।
गत मंगलबार एमालेले नेपासहित १४ सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो । एमालेले त्यसको बोधार्थ निर्वाचन आयोगमा समेत गराइसकेको छ । तर, माधव नेपालको नेतृत्वमा हिजो निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन पुगिसकेको छ । यस्तै सो समूहले पनि आफूहरुमाथि कारबाही नगर्न संसद सचिवालयमा पत्र पठाएको छ ।
राजनीतिक दल फुटाउने प्रयोजनका लागि संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत संख्या भए हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि नेपाल पक्षले नयाँ दल दर्ताको प्रक्रिया थालेको हो । त्यो प्रक्रिया असफल पार्न र उनीहरूको सांसद पद रिक्त पार्न एमाले सांसदहरूले दबाब अभियान थालेका हुन् ।
जवाफमा सभामुख सापकोटाले विधि र प्रक्रियाअनुसार आफूले निर्णय गर्ने जवाफ दिनुभएको नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्