
काठमाडौं । भुतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले विभिन्न माग राखेर बेलायतमा आमरण अनशनमा बसेका व्यक्तिहरूको जीवन रक्षाका लागि भन्दै प्रदर्शन गरेको छ ।
बेलायतमा रहेका भुतपूर्व ब्रिटिश गोर्खाले आफूहरूलाई समान काममा तलब, भत्ता तथा सेवा सुविधमा बेलायत सरकारले विभेद गरेको भन्दै समानताको माग राखे आन्दोलन गरिरहेका छन् ।
१४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भए पनि बेलायत सरकार र नेपाल सरकारले माग पूरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
भुतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एसबी घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताउनुभयो ।
मानव अधिकारको विपरित गोर्खा ब्रिटिश आर्मीहरूलाई विभेद हुनु अन्यायपूर्ण भएकाले यो असमानता अन्त्यका लागि आन्दोलन गरेको उनीहरूको भनाइ छ । नेपाल र बेलायतले माग सम्बोधन गर्न तत्परता नदेखाएसम्म आन्दोलन नरोकिने पनि उनीहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्