१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेताहरूले पुराना पार्टीको चुनाव चिन्ह छोड्न गाह्रो माने– डा. बाबुराम भट्टराई


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेताहरूले पुराना पार्टीको चुनाव चिन्ह छोड्न गाह्रो मानेको बताउनुभएको छ ।

बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष भट्टराईले अब नयाँ समाजवादको मोडल खोज्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

नेताहरुले पुराना पार्टीको चुनाव चिन्ह छोड्न गाह्रो मानेको भन्दै उहाँले क्षणिक पार्टीगत र चुनावी स्वार्थ भन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो । वस्तुगत रुपमा त हो नै विषयगत रूपमा हामी हिच्किचाइरहेका छौं ।’

उहाँले थप्नुभयो, ‘चुनाव चिन्ह छोड्न हामीलाई गाह्रो । भोट जनताले त्यसैमा हाल्छ । त्यो छोड्यौँ भने भोट आउँदैनकि भन्ने डर छ हामीलाई । त्यसैले यसमा जुन अल्झिराखेका छौं अब आँट गर्नैपर्छ ।’

उहाँले चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका जनताको हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।