१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आरोप प्रत्यारोपमा अनेरास्ववियू : नेतृत्व हत्याउन जुँगाको लडाईं जारी


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । माउ पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) फुटेपछि त्यसको असर उसको विद्यार्थी संगठनमा पनि स्पष्ट देखिएको छ । संगठनभित्र कसले आधिकारिता पाउने र वैधानिक नेतृत्व हत्याउने जुँगाको लडाईं चलिरहेको छ ।

पार्टी टुक्रिने अवस्थामा पुगेपछि दुवै पक्षका विद्यार्थी संगठनको नेतृत्व आफू वैधानिक भएको दलील गर्दैछन् । पार्टीमा स्पष्ट दुई धार भएपछि समानान्तर गतिविधि हुँदा केपी शर्मा ओली पक्षले २०७६ जेठ २ गतेको सचिवालय बैठकले ऐन महरलाई अध्यक्षको जिम्मेवारी दिएको थियो ।

अर्कातिर माधव कुमार नेपाल पक्षले २०७७ चैतमा राष्ट्रिय कार्यकर्ता भेला मार्फत सुदेश पराजुलीलाई संगठनको अध्यक्ष तोकेको थियो । अहिले महर र पराजुलीबीच विरासतको लडाईं चलिरहेको छ ।

ओली पक्षले एमाले विभाजन नभइ केही नेता, कार्यकर्ता पार्टी छाडेको बताइरहेको छ भने, नेपाल खेमाले पार्टी पुनर्गठनको प्रक्रिया थालनी भएको जनाएको छ । त्यसैले दुवै पक्ष आधिकारिक अनोरास्ववियू आफू रहेको दावी गर्छन् ।

मुल पार्टी विभाजनको बाटोमा लागे पहिले नै एकता नभएकाले पनि जनता समाजवादीको विद्यार्थी संगठनमा भने विवाद नभएको अध्यक्ष रुपनारायण श्रेष्ठ बताउनुहुन्छ ।

महर नेतृत्वको अनेरास्ववियू महाधिवेशनको सुरसारमा जुटेको छ । पराजुली नेतृत्वको अनेरास्ववियूले भने ७७ चैतमा नेतृत्व आएकाले दुई वर्षसम्म निरन्तरता पाउने जिकिर गर्छ ।

विद्यार्थी संगठनमाथि वर्गीय हकहितभन्दा पनि माउपार्टीको मुखपत्र बनेको आरोप लाग्ने गरेको छ । नेताको शीरमा पानी पर्दा छाता ओढेर निस्किने विद्यार्थी नेताको चरित्रले पनि आरोपलाई पुष्टि गर्ने गरेको छ ।