
काठमाडौं । अमेरिकामा कोभिड–१९को तेस्रो लहरका बेला क्लिनिकल ट्रायलमा रहेको औषधिले नेपालमा पनि ट्रायलको लागि अनुमति माग्ने भएको छ ।
काठमाडौंमा भएको पत्रकार सम्मेलनमा अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले करिव ९ करोड रकम बराबरको औषधि(नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट) नेपाललाई अनुदानमा प्रदान गर्न लागेको जानकारी दिनुभयो ।
औषधि क्लिनिक ट्रायल पश्चात प्रयोग गरिने उहाँको भनाइ छ । नर्भिक अस्पताल सँगको सहकार्यमा २० हजार संक्रमितको उपचारमा प्रयोग गर्न सकिने उक्त सप्लिमेन्ट औषधि नेपाललाई प्रदान गरिने जानकारी गराइएको छ ।
कार्यक्रममा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले नेपाल सरकारसँगको समन्वयमा नै औषधि नेपाल ल्याउन खोजिएको जानकारी दिनुभयो । उक्त औषधि कोरोना संक्रमणका कारण अक्सिजन कम भएका बिरामीका लागि प्रभावकारी हुने उहाँको भनाइ छ ।
औषधि निर्माता अमेरिकी वैज्ञानिक डा. न्याथन एस ब्रायनले औषधिले संक्रमितको शरीरमा अक्सिजनको मात्रा बढाउन मद्दत गर्ने जानकारी दिनुभयो । उच्च जोखिममा रहेको संक्रमितको स्वास्थ्य सुधारमा सहयोग पु¥याउने भए पनि औषधिले पूर्ण रुपमा कोभिड निको नपार्ने उहाँको भनाइ छ ।
अमेरिकामा १० वर्षदेखि प्रयोग गर्दै आएको यस औषधिले कोरोना भाइरस र अन्य समस्या विरुद्ध रोगसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने डा. ब्रायनको दावी छ । औषधि नेपालमा प्रभावकारी देखिए नर्भिक अस्पतालले खरिद गरी सहुलितदरमा बिक्री वितरण गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्