१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दरबारको आतिथ्य : ओछ्याइएको तन्ना जस्ताको तस्तै, सजाइएका प्लेट ज्यूँका त्यूँ

ज्ञानेन्द्रको पालामा भएको थिएन राष्ट्रप्रमुखको भ्रमण

0
Shares

गृष्मा राजभण्डारी
काठमाडौं । राजा महाराजाले पाहुनापासा राख्ने पाहुना घरका बारेमा तपाईं कति जानकार हुनुहुन्छ ?

मुलुकमा राजतन्त्र अन्त्य भएर गणतान्त्रिक व्यवस्था आएको यतिका वर्ष बितिसक्दा पनि नारायणहिटी राजदरबार संग्रहालयमा रहेको पाहुनाघरको दृश्य हेर्दा लाग्छ– त्यहाँका चीजबीजले पाहुना कुरिरहेका छन् । ओछ्यानमा हालिएको तन्नादेखि डाइनिङ टेबलका चम्चा, प्लेट जस्तो राखेको त्यस्तै अवस्थामा छन् ।

हेर्दैमा प्रष्ट हुनेगरी पाहुना कक्षलाई अतिथि सदनको नाम दिइएको छ । विदेशबाट आउने राजाका पाहुना यसै कक्षमा राखिन्थे । राजा महेन्द्रदेखि राजा वीरेन्द्रको पालामा आएका विदेशी पाहुनाको फोटोका लहरले यो कक्षको गरिमा प्रमाणित गर्छ । राजा ज्ञानेन्द्रको पालामा कुनै राष्ट्रप्रमुखहरूले औपचारिक भ्रमण नगरेकाले फोटो थपिएका छैनन् ।

राजाका पाहुना सुत्ने शयन कक्ष हो । दशकौंदेखि बेडमा ओछ्याइएको तन्ना अहिले पनि जस्ताको तस्तै छ । कोठाको सजावट भद्र शैलीको छ । राष्ट्राध्यक्षको शयन कक्षको आडमा रहेको यो फस्र्ट लेडीहरूका लागि छुट्याइएको शयन कक्ष हो । बाँकी शयनकक्ष पाहुनाका आफन्तका लागि बनाइएको हो ।

विदेशी पाहुनालाई भोजन गराउने डाइनिङ हलले उही समय सम्झाउँछ । त्यो बेला सजाइएका प्लेट र ग्लास ज्यूँका त्यूँ अवस्थामा सजिएका छन् । यही डाइनिङ टेबलमा कुनैबेला ८४ व्यन्जन सजिन्थे । भित्तामा टाँगिएका यी बेलायती स्प्रे कम्पनीका पेन्टिङ हुन् । यसखाले कला विश्वमै दुर्लभ मानिन्छ ।

बिदेशी पाहुनासँग राजा महाराजा बस्ने बैठक कक्ष, यसको जहाँको सजावट निकै सरल र सामान्य छ । अझ महत्वपूर्ण पाटो भनेको राजा त्रिभुवनले प्रयोग गर्ने सामान राखिएको कक्षका हरेक सामानले राजा त्रिभुवनको त्यो समयको झल्को दिन्छ ।

राजपरिवारको फोटो एल्बम अर्को ऐतिहासिक दस्तावेज हो । यो एल्बममा राजा महाराजा र राजपरिवारका सदस्यहरूको अनौपचारिक फोटो देख्न सकिन्छ । विदेशबाट आउनेको रेकर्ड आगन्तुक पुस्तिकामा सुरक्षित गरेर राखिएको छ ।

अचम्म त के छ भने दरबारका अधिकांश सामग्रीमा राजनिशान अंकित छ नारायणहिटी दरबार संग्रहालयमा परिणत भएपछि खाली कक्षमा राजारानीको निशान सहितको सामग्री नष्ट नहोस् भनी विशेष संरक्षण गरेर राखिएको छ । पर्याप्त बजेटको अभावमा संग्रहालय व्यवस्थापनले अझै प्रभावकारी काम गर्न सकेको छैन । यसका लागि सम्बन्धित निकायले शीघ्र तदारुकता लिन जरुरी छ ।