१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


माओवादी नेताद्वारा कार्यकक्षमै प्रवेश गरेर कर्मचारीमाथि दुर्व्यवहार, कामकाज ठप्प


0
Shares

सर्लाही । बसबरिया गाउँपालिकाका कर्मचारीले कार्यकक्षमै दुव्र्यवहार भएको भन्दै कामकाज ठप्प पार्ने भएका छन् ।

बिहीबार गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलन गर्र्दै कर्मचारीहरूले रामविश्वास राम, चनु राय, उदय रायसहितको समूहले बुधबार नेकपा माओवादी केन्द्रको झण्डा बोकेर नाराबाजीसहित कार्यालयमा प्रवेश गरी दुव्र्यवहार गरेकाले कामकाज ठप्प पार्ने निर्णय गरेका हुन् । शान्तिपूर्वक हिसाबले काम गर्ने वातावरण नहुन्जेलसम्म कार्यालयको सम्पूर्ण कामकाज बन्द उनीहरूको निष्कर्ष छ ।

गाउँपालिकाको उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झा, उद्यम विकास सहजकर्ता राश नारायण राय र राकेश कुमार यादव, सूचना प्रविधि अधिकृत सुजित कुमार कर्ण, पन्जिकरण शाखाका प्रमुख राजिव कुमार यादव, फिल्ड सहायक सन्जय कुमार पण्डित लगायतका कर्मचारीमाथि दुव्यर्वहार भएको उनीहरूले बताएका छन् ।

उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झाले कार्यकक्षमा बसेर काम गरिरहेको बेला आफूलाई एक्कासी तानेर बाहिर निकालिएको गुनासो गर्नुभयो । त्यसक्रममा आफूले लगाएको सर्ट समेत च्यात्तिएको उहाँले गुनासो गर्नुभयो ।

बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले आफू र प्रमुख प्रशासकीय अधिकृत हिजो मलंगवामा भएका बेला माओवादीका नेता कार्यकर्ताले उत्पाद मच्चाउने हिसाबले कर्मचारीमाथि हातपातसहित दुव्र्यवहार गरेका बताउनुभयो । आफूसँग कुरा गर्नुको साटो कर्मचारीलाई हप्कीदप्की र गालीगलौग गरेको भन्दै उहाँले घटनाको भर्त्सना गनुभयो ।

यता, दुव्र्यवहारको आरोप लागेका नेकपा माओवादी केन्द्रको रामविश्वास रायले भने सबै कर्मचारीलाई एकै ठाउँमा जम्मा पारेर अनियमितताको बारेमा केही कुरा राख्न खोजेको बताउनुभयो । कर्मचारीले नमानेपछि बाहिर निकालेर ढोका लगाइदिएको उहाँको भनाइ छ । तर, गाउँपालिकाको सीसीटिभी फूटेजमा राय लगायतका व्यक्तिले कर्मचारीहरूमाथि दुव्र्यवहार गरेको देखिएको छ ।

रायले कर्मचारीप्रति आफूहरूको कुनै पूर्वाग्रह नरहेको बताउँदै गाउँपालिकामा अनियमितता भएको र आफ्ना नातागोतालाई नियुक्ति गरिएको आरोप लगाउनुभयो । दुव्र्यवहारको आरोप लागेका चनु रायले धेरै समयदेखि गाउँपालिकाको हिसाबकिताब मागेको भए पनि नदिएको बताउनुभयो ।