
कैलाली । सुदूरपश्चिम प्रदेशका दुई सीमा नाका हुँदै भारतका विभिन्न स्थानबाट नेपालीहरू फर्किने क्रम बढेको छ ।
कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डाचौकी सीमा नाका हुँदै भारतबाट नेपालीहरू फर्किन थालेपछि स्थानीयमा कोरोनाको त्रास बढेको छ । कोरोना महामारी सुरु भएदेखि नै सुदूरपश्चिममा संक्रमणको जोखिम यथावत नै देखिएको छ ।
विभिन्न नाका हुँदै नेपालीहरू निर्वाध आउजाउ गर्दा कोरोनाको संक्रमण दर नियन्त्रणमा चुनौती बढ्दै गएको छ । त्रिनगर र कञ्चनपुरको गड्डा चौकी नाकाबाट साउन ३० गते ९ सय १० जना भारतबाट नेपाल फर्केका छन् भने ७ सय २६ जना भारततर्फ गएका छन् ।
भदौ ३ गते भने ४ सय ४३ जना नेपाल आएको र ६ सय ४६ जना भारत गएका छन् ।
भारतबाट उल्लेख्य संख्यामा नेपालीहरू फर्कने क्रम जारी रहेसँगै कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरूले जोखिम नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्