
डीवि विष्ट
बझाङ । जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ र ७ मा पर्ने आठपालिचौर झारकाँडामा पहिरो जाँदा सानीगाड खोला थुनिएको छ । शुक्रबार बिहान ११ बजे गएको पहिरोले खोला थुनिएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।
बिहीबारदेखि परेको अविरल वर्षापछि आएको पहिरोले दुई घर समेत पुरेका छन् । पहिरोले बुंगल नगरपालिका–६ का स्थानीय बले धामी र नरेन्द्र धामीको घर पुर्ण रूपमा क्षति भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
पहिरोले मानविय क्षति भएको छै भने बले धामीका तीन भैँसी, तीन गोरु, सात बाख्रा, लत्ता कपडा, खाद्यान्न पुरेको छ । यस्तै नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाई पहिरोमा परेर मरेको डीएसपी खड्काले बताउनुभयो । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रहरी र नेपाली सेनासहितको टोलीले थुनिएको खोला खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो । खोला थुनिएपछि तटीय क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरिएको छ । अहिले एक छेउबाट बाट खोला बग्न थालेकोसमेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्