
काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार आफ्नो ‘बोर्डर म्यान अफ नेपाल’ पुस्तकको सार्वजनिकीकरणमा बोल्दै श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरे पनि हालसम्म सो क्षेत्रसहितको भू–भाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताउनुभएको हो ।
चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूलाई अप्ठ्यारो परेको उहाँले बताउनुभयो । उहाँले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग कि.मि. थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
‘अब नेपालको बढेको क्षेत्रफल कति हो त ? सविकमा १ लाख ४७ हजार १८१ वर्ग कि.मि. थियो भने कति बढ्यो ? अहिलेसम्म सरकारले सार्वजनिकीकरण गरेको छैन । यसले गर्दा लोकसेवा आयोगका परिक्षार्थिलाई मार परेको छ,’ उहाँले भन्नुभयो, ‘मैले आफैले विभिन्न नक्सा अध्ययन गरेर हेर्दाखेरी साविक क्षेत्रफलमा ८२६ वर्ग कि.मि. भूभाग थपिएको मलाई लाग्दछ । त्यसमा सरकारले भन्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’
आफूले लेखेको पुस्तकमा नेपालको सिमानाको साथसाथै अन्य देशहरू नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रको अध्ययनबाट हासिल गरेका अनुभव र पाएका शिक्षाहरूको सम्बन्धमा पनि उल्लेख गरिएको उहाँले बताउनुभयो ।
नेपाल–भारतमा भएका सीमा समस्या, सीमा अध्ययन गर्न जाँदा आफूले भोगेका अनुभुतिहरूसमेत पुस्तकमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । नेपालको नक्साको द्वन्द्व, चुच्चे नक्सा लगायतका सीमा मामिलाको सम्बन्धमा विदेशीले पनि बुझुन् भन्ने उद्देश्य साथ पुस्तक अंग्रेजी भाषामा लेखिएको पनि उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्