
काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले जलवायुजन्य विपद् न्यूनीकरण तथा क्षतिपुरणका लागि आवश्यक नीति तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार विज्ञहरूसँगको परामर्शपछि समितिले जलवायु परिर्वतनका कारण वर्षेनी भोग्नुपरेको नोक्सानीको क्षतिपूर्ति सुनिश्चिता सहितको नीति तर्जुमा गर्न निर्देशन दिएको हो ।
नेपालमा जलवायु परिवर्तनले निम्त्याउने विपद् बहुआयामिक भएको भए पनि स्थानीय स्तरमा परेको क्षति र नोक्सानीको परिपुरणका लागि हाल सम्म कुनै नीति नभएको हुँदा समितिले वन तथा वातावरण मत्रालयलाई नीति तर्जुमा गर्नुपर्ने आवश्यकता तर्फ ध्यानाकर्षण गराएको हो ।
छलफलपछि समिति सभापति तारादेवी भट्ले जलवायु परिवर्तनका असर कम गर्न बढाउनुपर्ने लगानीको सुनिश्चितता गर्न र विश्व जलवायु कोषबाट प्राप्त हुने वित्त सहयोगलाई सजिलो र झन्झटमुक्त तरिकाले नेपालले प्राप्त गर्ने गरी काम अघि बढाउन मन्त्रालयलाई निर्देशन दिनुभयो ।
बैठकमा जलवायु परिर्वतन विज्ञ धर्मराज उप्रेतीले मौसम पुर्वानुमान सम्बन्धी राष्ट्रिय नीति नभएकाले समस्या भएको बताउनुभयो । उहाँले विपद् जोखिम न्युनीकरणमैत्री संरचनामा लगानी गरेर विद्यमान नीतिलाई पनि सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
जलवायु परिवर्तन र विपद न्यूनीकरणमा कार्यरत संस्थाहरूबीच पनि समन्वय, सहकार्य बलियो बनाउँदै त्यसमा स्थानीय सरकारको सहभागिता जुटाउन समितिले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्