
काठमाडौं । अपाङ्गता भएका व्यक्तिका लागि लक्षित गरी ‘बचाउ’ नामक मोबाइल एपको सुरुवात गरिएको छ ।
युएसएआइडीको तयार नेपाल परियोजनाको सहयोगमा ‘अतुल्य फाउण्डेसन’ ले तयार पारेको सो एप्लिकेशन सुस्त श्रवण भएका व्यक्तिलाई लक्षित गरिएको हो । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई आकस्मिक सेवामा सहयोग पुग्ने बताइएको छ ।
एप्लिकेशनमार्फत सुस्त श्रवण भएका व्यक्तिले आफूलाई परेको समस्याका बारेमा एपमार्फत प्रहरी, दमकल वा एम्बुलेन्सलाई जानकारी गराउन सक्ने परियोजनाले जनाएको छ । एप्लिकेशनमार्फत सहयोगका लागि अपील गर्दा प्रहरीले सहयोग आवश्यक पर्ने व्यक्ति रहेको वा घटना भएको स्थानसमेत जानकारी पाउने भएकाले सहजिकरणका लागि छिटो हुने अपेक्षा गरिएको छ ।
एप सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष पल्लव पन्तले नेपालका सरकारी र गैरसरकारी निकाय अपाङ्गमैत्री नभएको अवस्थामा सानो प्रयासस्वरुप बचाउ एप सार्वजनिक गरेको बताउनुभयो । विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दा अपाङ्गता भएका मात्र नभइ सबैलाई यो फलदायी हुने उहाँको भनाइ छ ।
कार्यक्रममा गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख हुमकला पाण्डेले प्रविधिको प्रयोगले विपद्मा परेका मानिसको सहयोग गर्न प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रमका सहभागीहरुले प्रविधिको प्रयोगमा अपाङ्गता भएका व्यक्तिहरु प्राय सक्षम नहुने भएकाले संकेत वा चित्रहरुको प्रयोगबाट पनि सहजै सूचना प्रवाह गर्न जोड दिनुपर्ने बताए । उनीहरूले नेपाल प्रहरी, एम्बुलेन्स र दमकललगायतका आपतकालीन सहयोग गर्ने निकायबीच सूचनामा समन्वय गर्न सके सूचना प्रवाह अझै प्रभावकारी हुने धारणा राखे ।
आपतकालीन अवस्थामा विभिन्न निकायमा खबर गरेर विपद् वा अन्य जुनसुकै समस्यामा पनि सहयोग पाइन्छ भन्नेबारेमा सचेतनाको आवश्यक रहेकोमा उनीहरूले जोड दिए । बेटा भर्सनमा उपलब्ध सो एप चाँडै नै परिस्कृत गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याइने फाउण्डेसनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्