काठमाडौं । भदौ २८ देखि असोज ४ गतेसम्म सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । जसमा तीव्र गतिका बलर गुल्शन झा पहिलो पटक टिममा पर्दा रोहित पौडेलले पुनरागमन गरेका छन् । मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर गुल्शन पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए ।
गुलशनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब र शरद भेषावाकरले पुनः राष्ट्रिय टोलीलमा स्थान बनाएका छन् । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिका सँग २–२ खेल खेल्नेछ भने उक्त सिरिज अगाडि पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई खेलको एक दिवसीय सिरिजका हुनेछ ।
नेपाली टोली आगामी मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका रहेको छ । पिएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्नेछ । यद्यपि खेल तालिका भने सार्वजनिक भएको छैन । लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नजित सुम्पिएको छ ।
घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । पिएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्