१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वको पहिलो कोभिडविरुद्धको डीएनए खोप प्रयोगका लागि भारतमा अनुमति


0
Shares

एजेन्सी । भारतको औषधि नियामक निकायले आपतकालीन प्रयोगका लागि कोरोनाभाइरसविरुद्ध निर्मित विश्वको पहिलो डीएनए खोपलाई स्वीकृति प्रदान गरेको छ ।

तीन मात्रा दिनुपर्ने जाईकोभ–डी नामक उक्त खोप लिएका ६६ प्रतिशत मानिसमा लक्षणयुक्त सङ्क्रमण हुन नपाएको खोप उत्पादक कम्पनी क्याडिला हेल्थकेअरले जनाएको छ । कम्पनीले प्रत्येक वर्ष एक करोड २० लाख मात्रा खोप उत्पादन गर्ने योजना बनाएको छ । यो भारतमै निर्मित दोस्रो खोप हो ।

क्याडिला हेल्थकेअरका अनुसार उक्त खोपको भारतमा गरिएको सबैभन्दा ठूलो क्लिनिकल परीक्षणमा २८ हजार जना स्वयंसेवी सहभागी भएका थिए । त्यसका लागि ५० वटाभन्दा बढी केन्द्रहरू सञ्चालित भएको उसले जनाएको छ ।

उक्त कम्पनीले भारतमा पहिलो पटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड–१९ को खोपको परीक्षण गरिएको दाबी गरेको छ ।

उक्त खोप त्यो उमेर समूहका मानिसमा सुरक्षित र एकदमै सह्य भएको पाइएको क्याडिला हेल्थकेअरको दाबी छ । उक्त खोपको क्लिनिकल परीक्षणको तेस्रो चरण भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको बेला गरिएको थियो ।

त्यसबाट विशेषगरी अतिसङ्क्रामक डेल्टा भेरियन्टजस्तो कोरोनाभाइरसको उत्परिवर्तित प्रकारविरुद्ध उक्त खोपको प्रभावकारिता सिद्ध भएको खोप निर्माताको विश्वास छ ।

यसअघि निर्माण गरिएका डीएनए खोपहरूले पशुमा मात्र राम्ररी काम गरेका थिए । भारतमा कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी गरी तीन किसिमका खोप प्रयोगमा छन् । अहिलेसम्म ती खोपका ५७ करोड मात्रा दिइसकिएको छ ।