
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दशौं हजार अमेरिकी र अफगान सहयोगीहरूलाई उद्धार गर्ने प्रयासमा थप मानिसको मृत्यु हुनसक्ने बताउनुभएको छ ।
काबुलबाट उद्धार गर्ने जिम्मेवारी खतरामुक्त नरहेको भन्दै उहाँले अमेरिकाले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरेर १० दिनभित्र उक्त काम सम्पन्न गर्ने बताउनुभयो । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले काबुल विमानस्थलको परिसरभन्दा केही बाहिरबाट तीनवटा सैनिक हेलिकप्टरले १ सय ६९ जना अमेरिकीको उद्धार गरेको जानकारी दिनुभयो ।
दुई सय मिटर परको होटलमा बसिरहेको उक्त समूह भीड पार गरेर विमानस्थलभित्र जान सकेको थिएन । तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा कायम गरेपछि अमेरिकी सेना विमानस्थलबाहिर निस्किएको जानकारीमा आएको यो पहिलो घटना हो ।
ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले इतिहासकै एउटा सबैभन्दा ठूलो र अत्यन्त कठिन हवाई उद्धारमा १३ हजार व्यक्तिकोे उद्धार गरिसकिएको जानकारी दिनुभयो । तर, अफगानिस्तानबाट उद्धार गर्न खोजिएका अमेरिकी नागरिकलाई तालिबानले अवरोध नपु¥याएको भन्ने राष्ट्रपतिको भनाइ आफ्नै रक्षामन्त्रीसँग बाझिएको छ ।
बाइडनले अमेरिकी राहदानीबाहक जो कोहीलाई तालिबानहरूले विमानस्थलसम्म आउन दिइरहेको बताउनुभएको थियो । तर शुक्रबार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले सांसदहरूसँगको ब्रिफिङमा तालिबानले अफगानिस्तान छाड्न चाहने अमेरिकीलाई पिटेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अमेरिकी नागरिकहरूको उद्धार प्राथमिकता रहेको भन्दै बाइडेनले अमेरिकी सेनालाई सहयोग गर्ने ५० देखि ६५ हजार जना अफगान सहयोगीलाई पनि त्यहाँबाट अन्यत्र लगिने बताउनुभयो । अमेरिकी गुप्तचर निकाय अफगानिस्तानको अवस्थाको सही विश्लेषण गर्न नसकेको भनाइपछि शुक्रबार बाइडेनले पुनः खण्डन गर्नुभयो ।
अफगानिस्तानका घटनाक्रमले विश्वव्यापी स्तरमा अमेरिकी छविमा आँच पु¥याएको भन्ने भनाइको पनि उहाँले प्रतिवाद गर्नुभयो । अफगान युद्ध संयुक्त प्रयास भएको भन्दै राष्ट्रपति बाइडनले जी सेभन देशका नेताहरूको बैठक गरेर भावी रणनीति तय गरिने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्