एजेन्सी । अफगानिस्तानमा नयाँ सरकार गठनका लागि तालिवानका सह–संस्थापक नेता मुल्ला अब्दुल गनी बरादर राजधानी काबुल पुगेका छन् । काबुलमा रहँदा उनले समावेशी सरकार गठनका लागि जिहादी नेताहरूसँग छलफल गर्ने बीबीसीले जनाएको छ ।
कतारको दोहामा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि बरादरलाई तालिबानको राजनीतिक कार्यालय प्रमुखमा नियुक्त गरिएको थियो । बरादर कतारबाट मंगलबार अफगानिस्तान पुगेका थिए ।
यसैबीच तालिवानले आफूहरूले गरेको कारबाहीको जवाफदेही हुने बताएको छ । उसले आफ्ना सदस्यहरूले बदला र प्रताडित गर्ने उद्देश्यले गरिएको भनिएका घटनाहरूको जाँच गर्ने प्रतिबद्धता जनाएको छ ।
अफगान नेतृत्वले यसअघिका सरकारलाई समर्थन गरेको आरोपमा कसैलाई पनि दुःख नदिने भने पनि उसका लडाकुहरू सर्वसाधारणको घरमा पसरेर खानतलासी गर्ने काम नरोकिएको विवरणहरू सार्वजनिक भएका छन् ।
उता ग्रिसले अफÞगÞानस्तानबाट आउने सक्ने शरणार्थीको सम्भावित ठूलो समूहलाई रोक्न टर्कीसँग जोडिएको आफ्नो सीमामा ४० किलोमिटर लामो पर्खाल बनाएको छ । ग्रीसका नागरिक सुरक्षा मन्त्री मिकालिस क्रिसोकोइडिसले शुक्रबार सीमा क्षेत्रको भ्रमण गर्नुभएको थियो ।
उहाँले आफूहरू सम्भावित असरलाई चुपचाप नपर्खने भन्दै सीमा क्षेत्रलाई कसैले पार गर्न नसक्ने बताउनुभएको छ । टर्कीले अफगान शरणार्थीको जिम्मेवारी लिन युरोपेली देशहरूलाई आग्रह गरेकै बेला ग्रिसले यस्तो कदम उठाएको हो ।
प्रतिक्रिया दिनुहोस्