
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुने वित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता चौधरीले पाँच दिनभित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरू पनि आफूहरूकै पार्टीमा आउने दाबी गर्नुभयो ।
‘पाँच दिन भित्र सबै जना उहाँहरू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले नौ गते सनाखतका लागि बोलाएको छ, त्यसपछि दल दर्ताको प्रमाण पत्र प्राप्त हुन्छ र हामी सरकारमा जान्छौं ।’
नेता चौधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पार्टीमा फर्कन नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई आग्रह गर्नुभयो । त्यसका लागि अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
नेता ठाकुर गैरेले पार्टी एकताका लागि १४ जना सांसदहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो भने वरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिन दवाव दिनुभयो । उहाँले आफूहरू पार्टी एकताको पक्षमा उभिएको दोहो¥याउनुभयो ।
नेता गैरेले दुइ तिहाई बहुमत प्राप्त सरकारबाट पार्टीलाई सडकमा ल्याउने काम नेतृत्वले गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्