३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


कर्मचारीको आन्दोलन स्थगित गर्न नागरिक उड्डयन प्राधिकरणको आग्रह

विधेयक संसदीय समितिमा रहेकाले छलफल गरेर अघि बढ्न सकिने भनाइ

0
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्दोलनरत कर्मचारीलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ ।

प्राधिकरणलाई विभाजन गर्ने गरी संसदमा विधेयक प्रस्तुत भएपछि त्यसलाइै रोक्न माग गर्दै प्राधिकरणभित्रको क्रियाशील कर्मचारी ट्रेड युनियन आन्दोलनमा छ । प्राधिकरण विभाजन विधेयक संसदीय समितिमा रहेकाले त्यहाँ छलफल गरेर अघि बढ्न सकिने भन्दै प्राधिकरण व्यवस्थापनले आन्दोलन स्थगित गर्न आग्रह गरेको हो ।

प्रतिनिधिसभाको सम्बन्धित समितिमा विधेयकहरूका सम्बन्धमा छलफल हुँदा युनियनलाई आम कर्मचारीको सरोकारका विषयमा आफ्नो धारणाहरु राख्ने अवसर प्राप्त हुने हुँदा हाल संसद्को अधिवेशन अन्त्य भएको समयमा तालाबन्दीलगायत विरोध कार्यक्रम गर्नु उपयुक्त नरहेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणलाई विभाजन गरी नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणमार्फत सञ्चालन गर्ने गरी २०७६ फागुन ११ गते संघीय संसदमा दुई विधेयक प्रस्तुत भएका थिए । उक्त दुवै विधेयक गत साउन १८ गते राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको छ ।

सोही विषयलाई लिएर प्राधिकरणमा क्रियाशील विभिन्न कर्मचारी युनियनहरूले गत साउन २५ देखि विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनीहरूले महानिर्देशकको कार्यकक्षअगाडि धर्ना दिँदै महानिर्देशकको सचिवालयमा तालबन्दी गरी विरोधका विविध कार्यक्रम गरिरहेका छन् ।