
काठमाडौं । हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवित धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।

काठमाडौंको पशुपतिनाथ सहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरुको भीड लागेको छ ।
आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई दीर्घायुको कामना गर्दै राखि बाँधिदिने र दाजुभाईले दिदीबहिनीलाई यथासख्य दक्षिणा दिने चलन छ ।

आजको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी व्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ ।
यसरी वैदिक मन्त्रोच्चारण गरेका जनै र रक्षासूत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ । आजको दिनमा बाँधिएको रक्षासूत्र तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

सत्ययुगमा दानवहरुद्वारा लखेटिएका देवताहरुलाई गुरु वृहस्पतिले रक्षा बन्धन तयार गरेर बचाएकोले देवताहरु अति बलवान भएको र दानवराज बलीलाई बाँध्न सफल भएको भन्ने शास्त्रोक्त कथन छ ।

सोही कथनअनुरुप बलवान र दीर्घायुको कामना गर्दै वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले जनै पूर्णिमाका दिन जनै धारण गर्ने, रक्षासूत्र बाँध्ने र क्वाँटी खाने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्