
प्रकाश नेपाल
इलाम । इलामको चुलाचुली गाउँपालिका भित्रका किसान व्यवसायीक मकै खेतीतर्फ आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र इलामको सहयोगमा आधुनिक मकै खेतीमा सीपमुलक तालिम, प्राविधि हस्तान्तरणसँगै आर्थिक सहयोग भएपछि किसान मकैखेती तर्फ आकर्षित भएका हुन् ।
आयोजनाबाट किसानलाई मकै रोप्ने मेसिन, गोठे मल बोक्ने एक पाङ्ग्रे ट्रली, बिषादी छर्कने स्प्रे ट्याङ्की, खेत बारी जोत्न पावर टिलर र सिचाईका लागि किसानका बारीमा बोरिङ जडान गरिएको मकै सघन बालि बिकास आयोजनाका सन्तोस थाम्सुहाङ्गले बताउनुभयो ।
चुलाचुली गाउँपालिका १ का किसानलाई आधुनिक मकै खेतीमा आकर्षित गर्न कृषि ज्ञान केन्द्रबाट मकै सघन बालि विकास आयोजना संचालित छ ।
तीन वर्षसम्म संचालित आयोजनामा कृषि ज्ञान केन्द्रको आर्थिक वर्ष २०७६÷०७७ मा २० लाख रुपैयाँ खर्च गरेको थियो । कृषि ज्ञान केन्द्रको २० लाखमा किसानले ५० प्रतिशत थप गरि तालिम, प्रविधि हस्तान्तरण र बजारीकरणमा सहयोग गरिएको थियो ।
परम्परागत रुपमा मकै खेती गर्दै आएका किसानका लागि सघन बालि विकास आयोजना संचालनपछि प्राविधिक ज्ञानसँगै उत्पादनमा पनि वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा कृषि ज्ञान केन्द्रको १० लाख र किसानको ३ लाख रुपैयाँ खर्च भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले बताउनुभयो । मकै सघन बालि विकास आयोजनाबाट आर्थिक वर्ष २०७६/०७७ मा ७ सय किसान र गत आर्थिक वर्षमा ६ सय ५० किसानले लाभ लिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
प्रतिक्रिया दिनुहोस्