१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पत्रकार फसाउन प्रहरीकै जाल, सिसिटिभी क्यामरामा सबै कैद


0
Shares

सञ्जय कार्की
रौतहट । रौतहटमा एक साता अघि लागुऔषध सहित पक्राउ परेका एक जना पत्रकार सहित दुईजना लाई प्रहरीकै योजनामा फसाइएको खुलासा भएको छ ।

होटलमा खाजा खान बोलाएर घुमुवा प्रहरीले नै रौतहट एक्सप्रेसका पत्रकार मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा प्रतिबन्धित लागुऔषध ‘नाइट्राभेट’ राख्न लगाएर पक्राउ गरेको खुलासा भएको हो ।

साउन ३२ गते राजपुर नगरपालिका–७ का शेख गुलाब अतिउल्लाह र पत्रकार मोजिबुल्लाहलाई राति ८ बजे उनै लागुऔषध लुकाउने घुमुवा प्रहरीले पक्राउ गरेका थिए । होटल नजिकैको सिसिटिभी क्याममा प्रहरीको सबै क्रियाकलाप कैद भएपछि घटना बाहिर आएको हो ।

नेपाल पत्रकार महांसंघ रौतहटले सिसिटिभी क्यामरामा कैद भएको भिडियो सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा घुमुवाको रुपमा कार्यरत प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साहको योजनामा पत्रकार मोजिबुल्ला सहित शेख गुलाबलाई नियोजित रुपमा फसाइएको खुलेको हो ।

मोटरसाइकलमा प्रतिबन्धित लागु औषध राख्ने धिरज यादव र जितेश यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनालाई प्रदेश प्रहरी प्रमुख उमेश रन्जितकारको नेतृत्वमा छानविन भइरहेको छ । आफूले घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीलाई कानुनी दायरामा ल्याउने उहाँको प्रतिबद्धता छ ।

पत्रकार मुजिबुल्लाहले आफ्नो अनलाइनमा घुमुवा प्रहरी यादव र साहको समाचार लेखेका थिए । सोही बदला स्वरूप उनलाई नियोजित रूपमा पक्राउ गरिएको हुन सक्ने नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताउनुभयो ।

घटनालाई नेपाल पत्रकार महासंघले निन्दनिय भनेको छ । आइतबार विज्ञप्ति जारी गर्दै महासचिव रोसन पुरीले घटनप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिकको जिउधनको सुरक्षामा खट्ने प्रहरी यस्ता कार्यमा लाग्नु दुःखद् भएको उल्लेख गर्नुभयो ।

प्रहरीको यस्तो कार्यले कानुनी राज्यको उपहास भएको महासंघको ठहर छ । महासंघले पत्रकार मोजिबुल्लाह र उनका सहयोगी अतिउल्लाहलाई तत्काल रिहाइको माग गरेको छ ।