
सोलुखुम्बु । मोटरसाइकल दुर्घटनामा परेर जिल्लामा एक पत्रकारको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका–५ कागतेमा मोटरसाइकल दुर्घटना हुँदा माप्य दूधकोशी–२ का ३० वर्षीय पत्रकार सुमन राईको ज्यान गएको हो ।
सदरमुकाम सल्लेरीतर्फ जाँदै गर्दा राई सवार बा ५४ प ७८२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
वर्षा भइरहेकाले रेनकोट ओढेर हिँडेका राईले ओढेको रेनकोट मोटरसाइकलको चेनमा बेरिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । एक्कासी उनले ओडेको रेनकोटको पछिल्लो भाग मोटरसाइकलमा बेरिएको र रेनकोट घाँटीमा पासो लाग्दा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी सुकुमाया राईले बताउनुभयो ।
घटनास्थलमा पुगेका प्रहरीका अनुसार मृतकको घाँटीमा रेनकोटले बेरिएको दाग देखिएको छ भने शरीरका अन्य भागमा भने चोट छैन ।
प्रतिक्रिया दिनुहोस्