१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभामुखको अग्निपरीक्षा : कसरी गर्लान् प्रतिपक्षीको सामना ?


0
Shares

अक्कल कुँवर
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले र सभामुख अग्निप्रसाद सापकोटाबीच टकराव देखिएको छ ।

पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्ने विषयमा एमाले र सभामुखबीच टकराव देखिएको हो । पछिल्लो टकरावसँगै सभामुखले आगामी दिनमा संसदमा प्रमुख प्रतिपक्षी दलको सामना कसरी गर्लान् भन्ने चासो बढेको छ ।

पार्टी फुटाएर गएका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको प्रमुख विपक्षी दल एमालेले उनीहरूलाई तत्काल पदमुक्त गर्न सभामुख सापकोटालाई दवाव दिए । तर, सभामुखले तत्काल पदमुक्त गर्ने माग कार्यान्वयन नगरेपछि एमालेका नेताहरू सार्वजनिक रूपमै धम्कीपूर्ण चेतावनी दिन थालेका छन् ।

एमाले फुटाउन सभामुखले पड्यन्त्र गरिरहेको आरोप समेत एमाले सांसदहरूले लगाउँदै आएका छन् । आफूले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै सभामुखलाई धम्कीपूर्ण चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीको धम्कीपूर्ण चेतावनीले स्पष्ट गर्छ कि आगामी दिनमा प्रतिपक्षी दलबाट सभामुखलाई सजिलो हुने छैन । प्रतिपक्षी दलबाट आउनसक्ने सम्भावित चुनौतीलाई सभामुख सापकोटाले सामना गर्न सक्लान् ? भन्ने विषय अहम् बनेको छ । निष्पक्षताको भूमिका सभामुखको लागि विपक्षीको दवाव सामना गर्न मुख्य हतियार हुने पूर्वकानुनमन्त्री प्रेमबहादुर सिंह बताउनुहुन्छ ।

विगतमा पनि सभामुख सापकोटामाथि निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको, संसदीय गतिविधि र अभ्यासलाई प्रभावकारी बनाउन नसकेको आरोप लाग्दै आएको छ । विगतको कार्यसम्पादन हेर्दा सभामुखलाई विपक्षीको दवाव थेग्न कठिन हुने पूर्वमन्त्री सिंहको जिकीर छ ।

हुत त सभामुख सापकोटा र तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबीच कहिल्यै सुमधुर सम्बन्ध हुन सकेन । संसद अधिवेशन आह्वान होस् वा अन्त्य तात्कालिन प्रधानमन्त्री ओलीले सभामुखसँग कहिल्यै परामर्श गर्नुभएन । कार्यपालिका र व्यवस्थापिका प्रमुखबीचको टकरावले संसदीय अभ्यास र गतिविधि नै निष्प्रभावी भएका कैयौं उदाहरण छन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र प्रतिनिधिसभा विघटनपछि त ओली र सापकोटाबीचको सम्बन्ध औपचारिकतामा मात्र सीमित रह्यो । तात्कालिन प्रधानमन्त्री ओलीसँगको टकरावपूर्ण सम्बन्धकै कारण पूर्वसभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुपरेको कतिपयको जिकिर छ ।

सापकोटाको नियति पनि त्यही हुने त होइन भन्ने विषयमा पनि चर्चा हुन थालेको छ । कुनै पनि विषयमा ठोस् निर्णय दिन र चुनौती सामना गर्न नसक्ने छवि बनाउनुभएका सभामुख सापकोटा आगामी दिनमा आक्रामक विपक्षी एमालेको सम्भावित आक्रमण निस्तेज पार्न सफल हुनुहोला ? अहिले चासोको विषय बनेको छ ।