
मकवानपुर । हेटौंडाबाट अपहरण गरी भारत पु¥याइएका २ जना युवकको नेपाल प्रहरीले उद्धार गरेको छ ।
तीन भारतीय नागरिकले अपहरण गरेका हेटौंडा–९ स्वागतटोलका २२ वर्षका पवन राना मगर र २३ वर्षका गोविन्द श्रेष्ठको नेपाल प्रहरी उद्धार गरेको हो । उनीहरुलाई छुटाउन परिवारसँग पाँच लाख भारतीय रुपैयाँ फिरौती मागिएको प्रहरीले जनाएको छ ।
भदौ ३ गते राति हेटौंडा बसपार्कबाट अपहरण गरेका उनीहरूलाई भारतको पूर्वी चम्पारणको मोतिहारी पुराइएको थियो । उनीहरूको मोतीहारीबाट सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
अपहरणबाट उनीहरूका आफन्तले प्रहरी कार्यालयमा खबर गरेपछि मकवानपुर प्रहरीको सक्रियतामा पर्सा प्रहरी र भारतीय प्रहरी टोलीले उद्धार गरिएको प्रहरीले जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले दुई युवक परिवारको जिम्मा लगाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्