
काठमाडौं । अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
३४ वर्षीय साहजादले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका हुन् । चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै साहजादलाई अनुबन्ध गरिएको जनाएको छ । साहजाद यसअघि पनि चितवन टाइगर्समा आवद्ध थिए । तर, कोभिड –१९ को कारण ईपीएल स्थगित हुँदा उनी २०१९ मा नेपाल आएर खेल्न पाएका थिएनन् ।
सम्झौतापछि साहजादले काठमाडौंमा छक्काको वर्षा गर्नलाई आतुर रहेको बताएका छन् । चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन् । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।
चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । छक्का प्रहार गर्ने छुट्टै शैली बनाएका विकेटकिपर ब्याट्सम्यान साहजाद अफगानिस्तानलाई क्रिकेटको एउटा शक्ति बनाउँदाका प्रमुख खेलाडी हुन् । माथिल्लो क्रमका यी दाहिने हाते ब्याट्सम्यानले अफगानिस्तानलाई सन् २०१० देखि चार पटक ट्वान्टी–२० विश्वकपमा पुर्याउदा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्