
दुर्गा उपाध्याय
कञ्चनपुर । महाकाली नदीमा निर्माणधिन चारलेन पक्की पुल जोड्ने सडक मार्ग पछिल्लो समय भाइरल रोडको नाममा चिनिन थालेसँगै कञ्चनपुरमा कोरोना संक्रमण जोखिम बढेको छ । सरकारले निशेषाज्ञा कडाइ गर्न गतसाता ७७ वटै जिल्ला प्रशासनलाई पत्राचार गरेपनि कञ्चनपुरमा भने त्यसको कार्यान्वय नहुँदा कोरोना संक्रमणको जोखिम बढेको हो ।
महाकाली नदीमा बन्दै गरेको पक्की पुल र त्यसलाई जोड्न बनाइएको पहुँच मार्ग हेर्न आउनेहरुको संख्या दिनानुदिन बढदै गएको छ । नदी किनारमा फराकिलो कालोपत्रे गरिएको पक्की सडक निकै रमणीय छ । टिकटक बनाउनेहरुको रोजाई बनेको यो सडकमा बिहान बेलुकाको समयमा दर्शकहरुको मेला नै लाग्ने गर्दछ ।
सामान्यतया बेलुकापख भिडभाड हुने उक्त सडक हेर्न बिदाका दिनमा कैलाली, बर्दिया तथा बाँके लगायत टाढा टाढाबाट मानिसहरुको घुइँचो लाग्ने गर्दछन् । उनीहरु म्युजिक भिडियो बनाउन, सेल्फी खिच्न तथा टिकटक बनाउन उक्त सडकमा आउने गर्दछन् ।
उसो त जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सभा, सम्मेलन तथा भिडभाड गर्न रोक लगाउदै बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म निशेषाज्ञा जारी गरेको छ । तर यो रोडमा भने बेलुका ४ बजेदेखि ७ बजेसम्म पुल हेर्न तथा टिकटक बनाउन दैनिक पाँच हजार बढी मानिसहरुको भिड लाग्ने गरेको छ । दैनिक हजारौंको संख्यामा पर्यटक बढ्न थालेपछि कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै स्थानीयबासिन्दाले चिन्ता व्यक्त गर्न थालेका छन् ।
यसअघि मास्क अभियानका क्रममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखले सो क्षेत्रको अनुगमन गरेपनि भिड नियन्त्रणका लागि कुनै चासो नदिएको स्थानीयको गुनासो छ । बजार व्यवसायमा मात्रै नभइ भिडभाड हुने सबै ठाँउमा स्थानीय प्रशासनले कडाइ गर्नुपर्ने सरोकारवालाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्