
प्रकाश नेपाल
इलाम । सिजनमा दैनिक सात सयसम्म पर्यटकले भ्रमण गर्ने इलामको रामसार क्षेत्र माईपोखरी कोरोना माहामारी पछि सुनसान भएको छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको रामसार क्षेत्रमा अहिले पर्यटकीय गतिविधि ठप्प छ ।
कोरोना माहामारी अघि माईपोखरीको प्राकृतिक सुन्दरतामा रमाउन दैनिक जसो सयौँ पर्यटक पुग्ने गरेका थिए । पूर्वी पहाडी जिल्लाको पहिलो रामसार क्षेत्र माईपोखरी पर्यटकसँगै अनुसन्धानकर्मीकोे पनि बाक्लो उपस्थिति हुने गर्दथ्यो । कोरोना माहामारी सुरु भएसँगै माईपोखरी अहिले सुनसान जस्तै छ ।
माईपोखरीको पर्यटकीयसँगै धार्मिक महत्व पनि रहेकाले नेपाल र भातरका भक्तजनहरु पनि पुग्ने गरेका छन् । सिजनमा दैनिक ७ सय सम्म पर्यटक पुग्ने माईपोखरीमा चैत्र र बैशाखमा पर्यटकको संख्या अझै बढ्ने गरेको छ । कोरोना माहामारी पछि पर्यटक आवातजावत बन्द भएसँगै माईपोखरी क्षेत्रका होटल र होमस्टे व्यवसायीको आम्दानीको श्रोत हराएको माईपोखरी स्थानीय निमदोर्जे सेर्पाले बताउनुभयो ।
सदरमुकाम इलाम बजारबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरीएपछि विश्वव्यापी पहिचान बनाएको छ । हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।
पूर्वी नेपालको सास्कृतिक सभ्यताको प्रतिबिम्भ माईपोखरी नौवटा कुनामा फैलिएको छ । माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैचे झ्याउ र उभयचर ठकठके, रुख भ्यागुतो र ३ सय बढी प्रजातीका चराको बासस्थन रहेको इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौडेलको भनाइ छ ।
२ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालिगुराँसलगायत विभिन्न उभयचरको पनि बासस्थान छ ।
प्रतिक्रिया दिनुहोस्