
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका केसीले सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो ।
सो प्रस्तावमाथि मत विभाजन हुँदा प्रस्तावको पक्षमा ४२ र विपक्षमा ० मत पर्यो, तटस्थ एकजना बसेका छन् । ८० सदस्यीय प्रदेशसभामा बहुमत सांसद सरकारको पक्षमा देखिएका हुन् । प्रदेश सभामा ४३ सांसद उपस्थित थिए । काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र एक सांसदले सरकारलाई विश्वास मत दिएका थिए ।
माओवादी केन्द्रका केसी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुनु भएकाे थियाे । यो धारा बमोजिम मुख्यमन्त्री नियुक्त हुनेले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री केसीले मुख्यमन्त्री नियुक्त भएको ११ दिनमा विश्वासको मत लिनु भएकाे हाे । उहाँले विश्वासको मत पाएसँगै २०७९ सम्मको बाँकी कार्यकाल यो सरकार टिक्ने सम्भावना देखिएको छ ।
यसअघि एमाले नेतृत्वको सरकार विश्वास मत नपाउँदा ढलेको थियो । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिनु भएकाे थियाे । देश संघीयतामा गएपछि बनेका ७ मुख्यमन्त्री मध्ये पोखरेल कार्यकाल पूरा नगरी सरकारबाट बाहिरिने दोस्राे मुख्यमन्त्री हुनुहुन्छ । यसैबीच प्रदेशको अर्को बैठक आगामी असोज १७ गते बस्ने गरि सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्