
काठमाडौं । नेकपा (एमाले)ले पार्टीका प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ गते को अवस्थामा क्रियाशील हुन निर्देशन दिएको छ ।
मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा माधवकुमार पक्षका १० स्थायी कमिटी सदस्यहरूसहित बसेको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा क्रियाशील हुन निर्देशन दिएको एमाले प्रवक्त प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै बैठकले जेठ २ गतेलाई आधार मानेर पार्टीको सदस्यता नविकरण गर्ने भएको छ । यसअघि नविकरण गरिसकेकाले पनि पुनः नविकरण गर्नुपर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टीको विधान महाधिवेशन असोज ४ गतेदेखि ६ गतेसम्म र महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म गने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
त्यसैगरी बैठकले कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ । भदौ १६ देखि २० गतेसम्म अगुवा प्रशिक्षार्थीहरूको समन्वयमा जिल्लामा कार्यकर्ता भेला गरिने भएको ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले असार २७ गते तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने, पार्टी एकताका लागि सबैलाई आह्वान गर्ने र भदौ १० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उहाँको भनाइ छ ।
माधवकुमार नेपाललाई धोका दिएर बैठकमा सहभागी भएको बैठकको सन्दर्भ र एकताको विषयमा थप जानकारी दिनका लागि बुधबार बिहान ११ बजे एमालेले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्