१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाँच वर्षीया बालिका बलात्कार र अवैध सम्बन्ध लुकाउन महिलाको हत्या गर्नेलाई जन्मकैद


0
Shares

काठमाडौं । पाँच वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने र अवैध सम्बन्ध लुकाउन महिलाको हत्या गर्ने युवकलाई पर्सा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।

बालिका बलात्कारको अभियोगमा पक्राउ गरेका विन्दावसिनी गाउँपालिका–४ निवासी २६ वर्षीय उमेश ठाकुर र भारतीय महिलाको हत्या अभियोग लागेका कालिकामाई गाउँपालिका–२ निवासी ३५ वर्षीय सैफुलाह भनिने रैफुल खाँ पठानलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

३ मंसिर २०७७ को अपरान्ह बाँसघारीमा खेलिरहेकी बालिकालाई मिठाइ दिने प्रलोभनमा एकान्त स्थानमा लगेर करणी गरेको ठहर गर्दै न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) को ’क’ बमोजिम २५ वर्ष कैदको सजाय सुनाएको प्रहरी उपरीक्षक बलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बलात्कार मुद्दामा दोषी ठहर भएका ठाकुरलाई संहिताको दफा २२८ बमोजिम पीडितलाई २५ हजार क्षतिपूर्ति तिर्ने र दफा ४१ को उपदफा (१) (क) बमोजिम पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ जम्मा गर्न आदेश गरेको छ ।

यस्तै भारतको उत्तर प्रदेश थाना रामकोल गाउँ सुरजपट्टी निवासी ३५ वर्षीय मैरुन नेसाको २० असोज २०७७ मा पेटीकोटको डोरीले घाँटी कसेर हत्या गरेको र अपराध लुकाउन कालिकामाई गाँउपालिका–४ स्थित गंगोल खोलामा शव फ्याकेको ठहर गर्दै पैठानलाई न्यायाधीश धर्मराज पौडेलको इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा १ को २ अनुसार २५ वर्ष कैद र पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको छ ।

प्रहरी उपरीक्षक पाण्डेका अनुसार विवाहित पैठान र भारतीय महिलाबीच तीन वर्षदेखि अवैध सम्बन्ध रहेको र महिलाले विवाह गर्न दबाव दिएपछि छुटकारा पाउन हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । पैठानले घर लैजाने भनेर भारतीय महिलालाई कालिकामाई–४ स्थित घटनास्थलमा पु¥याएर शारीरिक सम्बन्ध बनाएको र लगत्तै महिलाले लगाएको पेटीकोटको डोरीबाट घाँटी कसी हत्या गरेका थिए । हत्यापछि पेटिकोटको डोरी र सारीले हात खुट्टा बाधी खोलामा फालेर फरार भएका थिए ।

अदालतको फैसलापछि दुवै दोषीलाई सजाय भुक्तानका लागि वीरगन्ज कारागार चलान गरिएको छ ।