५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


ओलीले पार्टीको ढोका बन्द गरेपछि बाध्य भएर नयाँ दल खोल्नुपर्यो– माधव नेपाल


0
Shares

काठमाडौं । प्रस्तावित नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताउनुभएको छ ।

मंगलबार चन्द्रागिरीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अध्यक्ष ओलीले एकलौटी रूपमा पार्टी कब्जा गरेको र आफूहरूलाई पार्टीबाट निष्काशन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताउनुभयो । आफू लगायतका १४ सांसदलाई पार्टीबाट निष्काशन गरेपछि आफुहरूसँग नयाँ पार्टी दर्ता गर्नुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले आफूहरूसँग एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संख्या भन्दा बढी केन्द्रीय कमिटी र संसद दुवैतिर पुग्ने दाबी गर्नुभयो । उहाँले एमाले एकिकृत बनाउन भन्दै वार्तामा जुटेका र वार्तामा नजुटी भूमिका खेलेका नेताहरूसँग पनि एकतावद्ध भएर जाने कोसिस गरिरहेको बताउनुभयो ।

केपी ओली र आफूहरूको कित्ता छुिट्टएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरूसँग चुनावी तालमेल गर्न तयार रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको विचार र धारणामा परिवर्तन आएमा पार्टी गठन गर्ने बित्तिकै ओलीसँग पनि एकताको निम्ति तयार रहेको बताउनुभयो । उहाँले बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफुसँग सल्लाह गरेर नै मुख्यमन्त्री बनेको जानकारी दिनुभयो ।

आफ्नो सल्लाहमा मुख्यमन्त्री बनेको भए पनि नयाँ पार्टी गठन पछाडी प्रदेश र स्थानीय तहको जनप्रतिनिधिले २१ दिनभित्र राजनीतिक पार्टी रोज्न पाउने कुरा उल्लेख गर्दै उहाँले शाक्यले कुन पार्टी रोज्नुहुन्छ सोही आधारमा बागमती प्रदेश सरकारलाई आफूहरूले कसरी हेर्ने भन्ने तय हुने बताउनुभयो ।