२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


मूल घरमै फर्कन माधव नेपालसहितका नेतालाई एमालेको आह्वान


0
Shares

काठमाडौं । नेकपा एमालेले अलग्गै पार्टी दर्ता गर्न लागेका माधव नेपालसहितका नेता, कार्यकर्तालाई मूल घरमै फर्कन आह्वान गरेको छ ।

पार्टी एकताको पक्षमा उभिएका नेताहरूसहित मंगलबार बसेको पार्टी स्थायी समिति बैठकले विशेष प्रस्ताव पारित गर्दै अलग्गै पार्टी दर्ताका लागि क्रियाशील भएका नेता, कार्यकर्ताहरूलाई पार्टीको मूल घरमै फर्कन आह्वान गरेको हो ।

छुट्टै दल दर्ता प्रक्रियाबाट अलग भई पार्टी एकताको पक्षमा योगदान गर्नेहरूलाई पार्टीमा स्वागत गरिने र उनीहरूमाथि कुनै प्रकाराको भेदभाव वा पूर्वाग्रह नराखिने प्रस्ताव पनि स्थायी समिति बैठकले पारित गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले १० बुँदे सहमतिको कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि पार्टीको केन्द्रीय कमिटीमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीलगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा फर्कन निर्देशन समेत दिएको छ ।

प्रवक्ता ज्ञवालीले १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा उत्पन्न हुन सक्ने समस्याहरू समाधान गर्न कार्यदल बनाइएको छ । कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनुभएको छ । एमालेले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर पार्टीको सदस्यता नविकरण गराउने निर्णय पनि गरेको छ ।

एमालेले पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते र दशौं महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा आयोजना गर्ने निर्णय पनि गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावहरूमाथि छलफल गर्न आगामी भदौ २५ र २६ गते पार्टी स्थायी समिति र २७ र २८ गते केन्द्रिय समिति बैठक बोलाउने निर्णय पनि गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

एमालेले पार्टी महाधिवेशनको तयारीका लागि कार्तिक ६ गते वडा अधिवेशन र कार्तिक ९ गते पालिका वा सो सरहको कमिटीको अधिवेशन सम्पन्न गर्ने पनि जानकारी गराएको छ । प्रवक्ता ज्ञवालीले पार्टी एकताको सन्देश दिने गरी देशभर आगामी भदौ १६–२० गतेसम्म केन्द्रीय प्रशिक्षकहरूको उपस्थितिमा सबै जिल्लामा जिल्ला कार्यकर्ता भेला र जनसंगठनहरूको केन्द्रीय कार्यकर्ता भेला आयोजना गर्ने बताउनुभयो ।

स्थायी समिति बैठकले मंगलबार गरेको निर्णय एमालेले बुधबार तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूको उपस्थितिमा पार्टीको निर्णय सार्वजनिक गरिने पनि एमालेले जानकारी गराएको हो ।

एमालेले स्थायी समितिको मंगलबारको बैठकको निर्णयलाई अनुमोदन गर्न भदौ १० गते केन्द्रीय कार्य समितिको बैठक पनि बोलाएको छ ।

सम्बन्धित समाचार
०७५ जेठ २ कै अवस्थामा क्रियाशील हुन प्रदेश र जिल्ला कमिटीलाई एमालेको निर्देशन