१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफगानिस्तानमा उद्धारमा खटिएको अमेरिकी सेना छिट्टै फिर्ता गर्ने राष्ट्रपति बाइडेनको प्रतिबद्धता


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा उद्धारका लागि खटिएका अमेरिकी सेना छिट्टै फिर्ता हुने बताउनु भएको छ ।

औद्योगिक राष्ट्रहरुको संगठन जी सेभेनको सम्मेलनलाई सम्बोधन गर्दै बाइडेनले अफगानिस्तानबाट अधिकांश अमेरिकी सेनाहरु फिर्ता भइसकेको र जतिसक्दो छिटो अन्य उद्धार सम्पन्न गरेर सेना फिर्ता हुने बताउनु भएको हो ।

तालीवान विद्रोहीले यही अगष्ट ३१ तारिख सम्मको समयसीमा दिएको प्रसंगमा बाइडेनले हालसम्म ७ हजार बढीको उद्धार गरिसकेको जनाउँदै अफगानिस्तान छाड्न चाहनेहरुको पनि उद्धार गर्ने बताउनुभयो ।

अफगानिस्तान तालीवानको नियन्त्रणमा गइसकेको अवस्थामा इस्लामिक स्टेट आईएसको आक्रमणको सम्भावना बलियो बन्दै गएकाले त्यहाँ फसेका सर्वसाधारणको पनि उद्धार आवश्यक रहेको उहाँको भनाइ थियो ।

उद्धारमा सघाएको भन्दै उहाँले तालीवानलाई धन्यबाद पनि दिनुभयो । भर्चुअल रुपमा आयोजना गरिएको जी सेभेनको सम्मेलनमा फ्रान्स, बेलायत, क्यानाडा, इटली, जापान, इयु र युरोपेली संघका नेताहरुले अफगानिस्तानको पछिल्लो अवस्थाबारे समीक्षा गरेका थिए ।

सोही क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायत अपगानिस्तानमा अन्तिम क्षण सम्म पनि उद्धार कार्यमा सक्रिय हुने बताउनुभयो ।