१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३५ जना घाइते

‘ब्रेकमा समस्या आएपछि यात्रु ओरालेर परीक्षण गरी पुनः यात्रु चढाइयो, त्यसपछि बस दुर्घटना भयो’

0
Shares

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा ती जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् ।

लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका–३ छापगाउँमा दुर्घटना भएको हो । ब्रेकमा समस्या आएपछि यात्रु ओरालेर परीक्षण गरी पुनः यात्रु चढाएपछि बस दुर्घटना भएको घटनास्थलमा रहेका स्थानीय रविन्द्र खड्काले जानकारी दिनुभयो ।

बस दुर्घटना हुन लागेको देखेपछि भाग्न लाग्दा दुई जनालाई बसले किचेर घटनास्थलमै मृत्यु भएकाे उहाँकाे भनाइ छ । अर्का एक जनाकाे अस्पताल लैजाँदै गर्दा बाटाेमै मृत्यु भएकाे हाे । यद्यपि प्रहरीले भने अहिलेसम्म मृत्युको पुष्टि गरेको छैन । प्रहरी प्रमुख राजन अधिकारीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारको काम जारी रहेको जानकारी दिनुभयो ।

घाइतेहरूलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा राखेर उपचारका लागि अस्पताल पठाइएका छ । घाइतेमध्ये १६ जनाको सदाबहार अस्पताल, खाडीचौर र बाँकीलाई धुलिखेल र काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।