
प्यूठान । एकसाता अघि परेको मुसलधारे बर्षाका कारण पहिरो खस्दा नौबहिनी गाउँपालिकास्थित डार्मीको गाउँका ७० घरपरिवार जोखिममा परेका छन् ।
सिंगो गाउँ नै पहिरोको जोखिममा भए पनि ६ घर भने बस्नै नमिल्ने गरी चर्किएका छन् । पहिरोका कारण घरमा क्षति पुगेपछि गाउँका बासिन्दा बस्ती नै छाडेर अन्यत्र जान थालेका छन् ।
वर्षातका कारण घरभित्रै पानीको मुल फुटेपछि घरमा बस्न सक्ने अवस्थासमेत छैन । सयौं रोपनी जग्गा पहिरोमा परिणत भएको छ । भिरालो जमिन, भूमिगत पानी र सडकका कारण पहिरो खस्दा गाउँ नै जोखिममा परेको हो । पहिरोले घर, बारी बगाएपछि ६ घरपरिवारको स्थायी बसोबास हुन सकेको छैन ।
पहिरोले लगेपछि डाम्र्रीका ताज बहादुर पुन, मान बहादुर पुन, राजिमा घर्ती लगायतले घर छाडेर भेडिगोठमा शरण लिइरहेका छन् । केही छिमेकीको घरमा आश्रय लिएका छन् भने ७० घरपरिवार जोखिम मोलेरै रात कटाउन बाध्य छन् ।
सिंगो गाउँ नै पहिरोको जोखिममा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम थालनी गरेको नौबहिनी गाउँपालिकाले जनाएको छ । तर, पहिरो पीडितहरूले भने अहिलेसम्म कसैले सहयोग नगरेको भन्दै बिलौना पोखी रहेकाछन् ।
पहिरोले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहे पनि प्रभावकारी हुन सकेको छैन । बस्ती स्थानान्तरण र राहतका लागि प्रदेश सरकारसँग समन्वय गरेको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले बताउनुभयो ।
पहिरोका कारण विस्थापित भएका परिवारले उचित बासस्थानको माग गरे पनि अहिलेसम्म कतैबाट सुनुवाइ हुन सकेको छैन् । लगातार वर्षा भइरहेकाले त्यस ठाउँमा थप मानवीय क्षति हुन नदिन स्थानीय तह र प्रदेश सरकारले उनीहरूलाई सुरक्षित स्थानमा सार्न र बस्ती स्थानान्तरण गर्न ढिलो गर्नुहुन्न ।
प्रतिक्रिया दिनुहोस्