१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ट्राफिक व्यवस्थापनमा महिला प्रहरी चुस्त

कामप्रतिको लगाव र अनुशासनका कारण नेतृत्व पनि सन्तुष्ट

26
Shares

दीपक श्रेष्ठ
काठमाडौं । सरकारी सेवा प्रदायकमध्ये अग्रपंक्तिमा रहेर सेवा दिने ट्राफिक प्रहरीका आफ्नै चुनौती छन् । दिनरात हिलो, धुलो र धुवाँसँग पौंठेजोरी खेल्नुपर्ने अवस्थामा रहेको ट्राफिक प्रहरी सेवामा महिला सहभागिता उत्साहपूर्ण देखिएको छ ।

साँघुरा सडकमा रातदिन खटेर गर्नुपर्ने अपजसको काममा महिला ट्राफिक प्रहरी खरो उत्रिएका छन् । व्यवस्थापनको कसीमा अब्बल देखिएपछि ट्राफिक प्रहरी महाशाखाले निक्कै अस्तव्यस्त मानिने काठमाडौं उपत्यकाका प्रमुख स्थानको सडक व्यवस्थापनको जिम्मेवारी तिनै महिला ट्राफिकलाई सुम्पिएको छ ।

कुनै समय काठमाडौंको थापाथली र त्रिपुरेश्वरमा ट्राफिक व्यवस्थापन निकै फितलो थियो । ती ठाउँमा सवारी साधनको लामै जाम हुने गर्थे । ट्राफिक प्रहरी महाशाखाले ती स्थानमा महिला ट्राफिक प्रहरीको कमाण्डमा रहने गरी महिला ट्राफिक प्रहरीलाई नै व्यवस्थापनको जिम्मा दिएपछि ट्राफिक व्यवस्थापनमा चामत्कारिक सुधार आयो ।

ट्राफिक नियमको पालना नगर्ने सवारी चालकप्रति उनीहरूले शून्य सहनशीलता अपनाएर काम गरे । उनीहरूले ट्राफिक नियममा निकै कडाइ गर्न थालेपछि सवारी चालक सतर्क हुन्थे । यो परिणामबाट हौसिएको ट्राफिक नेतृत्वले देशको अत्यन्त संवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने चोकको व्यवस्थापनको जिम्मा प्रभाग बनाएर महिला ट्राफिकलाई नै दियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता सुनीलजंग शाह, महिला ट्राफिकलाई खटाउँदा जनगुनासो कम आउने बताउनुहुन्छ । साथै पुरुषको दाँजोमा महिला ट्राफिक प्रहरी अनुशासित, कामप्रतिको लगाव र लगनशील देखिएकाले पनि संवेदनशील स्थानमा खटाइएको उहाँको भनाइ छ ।

चुनौती थुप्रै छ । महिला भनेर हेपेर नियम नमान्ने तथा सहयोगी भएर कानुनलाई सघाउने दुवै प्रकृतिका मानिस सडकमा भेटिन्छन् । आफूहरूले चुनौती र अवसर दुवैको सामना गर्दै व्यवस्थापन गरेको ट्राफिक प्रभाग, एयरपोर्टकी प्रहरी निरीक्षक कमला सुवेदी बताउनुहुन्छ ।

खटाइएको स्थानमा पुरुषले भन्दा महिलाले लगावका साथ काम गर्ने गरेको प्रहरी निरीक्षक सुवेदीको दावी छ । त्रिपुरेश्वर र एयरपोर्टमा महिला ट्राफिक प्रहरी भएपछि ‘गल्ती गरे छाड्दैनन्’ भन्ने सोच सवारी चालकहरूमा भएकाले सचेत रहेको उहाँको भनाइ छ ।

त्यसो त आर्थिक मामिलामा महिला ट्राफिक प्रहरी पारदर्शी देखिएको महाशाखाले जनाएको छ । महिला ट्राफिक प्रहरीबाट गर्ने व्यवहारको सन्दर्भमा सडक प्रयोगकर्ता र सवारी चालकबाट कुनै पनि गुनासो नआएको महाशाखाका सहप्रवक्ता शाहको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्नो ४८ वटा युनिटमा २ सय २ जना महिला ट्राफिक प्रहरी खटाएको छ । ट्राफिक महाशाखाका अनुसार २६ युनिटमध्ये सबैभन्दा बढी थापाथली प्रभागमा ३६, सिंहदरबारमा १८, महाशाखा कार्यालय, रामशाहपथमा २५, ट्राफिक प्रहरी विमानस्थल प्रभागमा २४ जना छन् ।