१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्वयम्भू महाचैत्यको संग्रहालय गोदाममा परिणत, सदियौं पुराना मूर्तिमाथि आइसक्रिमका विज्ञापन


169
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । युनेस्को विश्व सम्पदामा सूचिकृत स्वयम्भू महाचैत्य । महाचैत्य परिसरमा बौद्ध दर्शन, कलासँग सम्बन्धित संग्रहालय पनि छ । तर, यो संग्रहालय अहिले गोदाममा परिणत भएको छ ।

विश्वका बौद्ध धर्माबलम्बीहरूको आस्थाको केन्द्र स्वयम्भू महाचैत्य, सन् १९७९ मा युनेस्को विश्व सम्पदामा सूचिकृत भएको थियो । पुरातात्विक र ऐतिहासिक महत्वलाई बेवास्ता गर्दा विगतमा स्वयम्भू महाचैत्य खतराको सूचिमासमेत परेको थियो ।

महाचैत्य परिसरमा बौद्ध दर्शन र कलासँग सम्बन्धित महत्वपूर्ण संग्रहालय पनि छ । जहाँ पुरातात्विक र ऐतिहासिक महत्वका सदियौं पुराना मुर्तिहरू रहेका छन् । तथागत बुद्ध, चिन्तामणी लोकेश्वर, महाकाल लगायतका महत्वपूर्ण मुर्तिहरू धुलै धुलो भरिएको सिसाभित्र राख्दा देख्नै मुस्किल छ ।

स्वयम्भू बौद्ध मूर्ति संग्रहालय भित्र विभिन्न सामानहरु थुपार्दा गोदाम जस्तै देखिन्छ । व्यवस्थापनको चरम लापरबाहीले संग्रहालयभित्रै पसलमा बेचिने फलफूल बोरा बोरामा थुपारिएको छ । संग्रहालयको मान्यताविपरीत आइसक्रिमको फ्रिज लगायतका सामानहरू राखिएको छ । आइसक्रिमका काेन मुर्तिमै फाल्दासमेत कसैको आँखा गएको छैन ।

पानीका बोत्तल संग्रहालयको मुल ढोकामा नै बेच्न राखिएको छ । यसको रेखदेख गरिरहेकासँग कुरा गर्दा खासै बोल्न चाहेनन् । संग्रहालय रेखदेख गरिरहेका सुपेन्द्र बुद्धाचार्य पनि व्यवस्थापकलाई दोष लगाउँदै पन्छिए ।

विश्व सम्पदाको परिसरमा रहेकै कारण पनि संग्रहालयका महत्वपूर्ण छ । तर, यसको गाम्भिर्यता सरोकारवालाहरूले बुझन सकेको देखिएन । अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बनाएर अध्ययन अनुसन्धानको केन्द्र बनाउनु पर्ने ठाउँ पसलको गोदाममा सीमित गरिएको छ ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति यसबारे मौन छ । यति मात्र कहाँ हो र, महाचैत्य परिक्रमा गर्ने बाटोमा नै दियो बत्ति बेचिरहँदासमेत महासमिति मुकदर्शक बनेको छ ।

स्वयम्भू महाचैत्य क्षेत्र मूर्त–अमूर्त सम्पदाको भण्डार हो । त्यसैले यहाँ हुने कुनै पनि गलत क्रियाकलाप रोक्न सबै लाग्नुपर्छ । नभए महाचैत्य विश्व सम्पदा सूचिमा भएको यथार्थ इतिहासमा सीमित हुनसक्छ । त्यसतर्फ बेलैमा ध्यान दिन आवश्यक छ ।